दमक – नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईँले माओवादी पार्टीले देशलाई एकसय वर्ष पछाडि धकेलेको बताउनुभएको छ ।
आज झापाको दमकमा आयोजित नेकपा एमालेको वृहत् पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रसाईँले माओवादीले १७ हजार मानिसको ज्यान लिने, हजारौँ मानिसलाई घाइते बनाउने र खरबौँको सम्पत्ति नष्ट गर्ने काम गरेका भन्दै आलोचना गर्नुभयो ।
आफू केही समय माओवादीमा लागेको भन्दै उहाँले आत्मालोचना गर्नुभयो । कांग्रेससँग गएर गठबन्धन गर्ने हो भने के को लागि जनयुद्ध गरेको भन्दै प्रसाईँले प्रचण्डसँग प्रश्न गर्नुभयो । ‘के को लागि गठबन्धन गरेको’, उहाँले भन्नुभयो ।
नेपालका नेताहरूको यूएईमा ठूलो लगानी रहेको बताउँदै चुनाव अगाडि नै पत्रकार लगेर सार्वजनिक गराउने उहाँले बताउनुभयो । प्रसाईँले अहिलेको सत्ता गठबन्धन देश लुट्नकै लागि भएको प्रसाईँले दाबी गर्नुभयो ।
यूएईका राजकुमारको सहयोगमा आफूले विदेशमा रहेका नेपालीका शव र बिरामीलाई देश फर्काउन सफल भएको उहाँले बताउनुभयो । काम गर्नको लागि सत्तामै पुग्नु पर्ने वा सांसद् र मन्त्री हुनु नपर्ने प्रसाईँले बताउनुभयो ।
उहाँले झापाली जनताले सिंहदरबारको ढोकाभित्र छिराउने बताउनुभयो । एमालेलाई चुनाव जित्न कसैको बैसाखी टेक्नु नपर्ने उहाँले प्रष्ट पार्नुभयो । ‘के उहाँले यहाँ चुनाव जित्न बैसाखी टेक्नु पर्छ ?’ प्रसाईँले प्रश्न गर्नुभयो ।
नेकपा एमालेमा प्रवेश गर्ने नेता कार्यकर्ताले पछुतो मान्नु नपर्ने उहाँले बताउनुभयो । उहाँहरूलाई पार्टीमा काम गर्ने अवसर सिर्जना गर्ने प्रसाईँले बताउनुभयो ।







प्रतिक्रिया