अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीन वर्षपछि टीका लगाउन पाउँदा कैदीबन्दी खुसी

तीन वर्षपछि टीका लगाउन पाउँदा कैदीबन्दी खुसी


दमौली – तनहुँ कारागारमा रहेका कैदीबन्दी आफन्तसँग टीका लगाउन पाउँदा खुसी भएका छन् । विजयादशमीको दशौँ दिन आज कारागारभित्रै आफन्तसँग टीका लगाउन पाउँदा कैदीबन्दी खुसी भएका हुन् ।

कोभिड–१९ को सङ्क्रमणपछि पहिलो पटक कैदीबन्दीले आफन्तको हातबाट टीका लगाउन पाएका हुन्। विगतका वर्ष कोभिड–१९ को जोखिमका कारण आफन्तबाट टीका लगाउन रोक लगाइएको थियो ।

कारागारमा पुर्पक्षका लागि थुनामा रहेका एक कैदीबन्दीले दसैँका दिन आफन्तसँग भेटघाट गर्दै टीका लगाउन पाउँदा खुसी लागेको बताउनुभयो । “दसैँका बेला निधार खाली हुन्छ की भन्ने चिन्ता थियो, तर आफन्तसँगै टीका लगाउन पाएर एकदमै खुसी लागेको छ”, उहाँले भन्नुभयो ।

‘यो वर्ष आफन्तको हातबाट टीका लगाउन पाउने व्यवस्था मिलाएका हौं’, कारागारका निमित्त प्रमुख नारायण अधिकारीले भन्नुभयो, ‘आफन्तसँग टीका लगाउन पाउँदा कैदीबन्दीले राम्रो मान्नुभएको छ ।’ उहाँका अनुसार दिउँसो १:३० बजेसम्म ३४ जना कैदीबन्दीले आफन्तको हातबाट टीका लगाएका छन् ।

बिहानैदेखि झरी परेकाले उनीहरुका आफन्त आउन ढिलाइ भएको हुनसक्ने उहाँले बताउनुभयो । ‘झरीले केही समस्या बनाए पनि टीका लगाउने व्यवस्थापन मिलाएका छौं’ अधिकारीले भन्नुभयो ।

कैदीबन्दीहरुले दसैँ मनाउन खशीबोका खरिद गर्नका लागि कोष बनाएका थिए । कोषमा सबै कैदीबन्दीले रकम जम्मा गरेका छन् । सोही कोषमा जम्मा गरिएको रकमले खशी, कुखुरा लगायत खरिद गरिएको छ ।

‘सरकारले दसैँ खर्चबापत प्रत्येक कैदीबन्दीलाई रु तीन सयका दरले रकम उपलब्ध गराउँछ, सोही रकम र मूढा बिक्री गरेर कमाएको पैसा कैदीबन्दीले कोषमा राखेका छन्, त्यही रकमबाट आवश्यक सामग्री खरिद गरी रमाइलो गरिएको छ’, अधिकारीले भन्नुभयो । तनहुँ कारागारमा १२ महिलासहित दुई सय ८७ कैदीबन्दी छन् ।