अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मनाङमा असोजमै हिमपात, उच्च सर्तकता अपनाउन आग्रह

मनाङमा असोजमै हिमपात, उच्च सर्तकता अपनाउन आग्रह


लमजुङ – हिमाली जिल्ला मनाङमा हिउँ पर्न थालेको छ। जिल्लाको माथिल्लो क्षेत्रमा बिहीबार बिहानबाट हिउँ पर्न थालेको स्थानीयले बताएका छन् ।

मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण बिहीबारबाट हिउँ पर्न थालेको बताएका छन् । मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार तीन दिनदेखि निरन्तर परेको वर्षाले हिउँ पर्न थालेको छ । चिसो बढेको छ । हिउँले डाँडाकाँडा सेताम्मे भएको छ । पानी पनि परिरहेको छ ।

मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाका क्षेत्रमा हिउँ परेको छ । माथिल्लो क्षेत्रको थोराङलापास, बेसक्याम्प, याकखर्च, तिलिचो क्षेत्रमा हिमपात भइरहेको छ । मनाङमा सन् २०१४ को अक्टोबर २० मा परेको थियो । त्यसपछि अक्टोबर २० भन्दा अघि हिउँ परेको थिएन । यसबर्ष भने अक्टोबर ६ मै हिउँ परेको हो । हिउँ पर्न थालेपछि चिसो बढेको स्थानीयले बताएका छन् । हिउँले वस्ती माथिका डाँडाहरु सेताम्मे भएको छ ।

हिमपातका कारण बिजुली बन्द छ । इन्टरनेट प्रभावित छ । मोबाइल नेटवर्कमा पनि समस्या भएको स्थानीयले बताएका छन् । मनाङमा गतवर्ष मंसिर १६ गतेबाट हिउँ पर्न सुरु भएको थियो । यसवर्ष दुई महिना अघिदेखि नै हिमपात भएको हो । मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यका अनुसार केही दिनदेखि लगातार भइरहेको मनसुनी प्रभावका कारण भारी वर्षा भएको थियो । वर्षापछि नार्पाभूमि र मनाङ ङिस्याङ गाउँपालिकालगायतको उच्च भूभागमा हिमपात भएको छ । 

उहाँका अनुसार निरन्तर हिमपात भइरहेकाले नागरिकलाई सचेत रहन भनिएको छ । हिमपात बढ्न सक्ने भएकाले घरभित्रै बस्न, न्यानो कपडा लगाउन, आगो तापेर बस्न अनुरोध गरिएको छ ।