अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘उचाइँ’को कमाईमा गिरावट

‘उचाइँ’को कमाईमा गिरावट


नेपालमा खिचिएको बलिउड फिल्म ‘उचाइँ’ले कम स्क्रिनका बावजूद विकेन्डमा राम्रो कमाई गर्‍यो । विकेन्डमा १० करोड ५० लाख कमाएको फिल्मको चौंथो दिनबाट कमाईको रफ्तार कमजोर बनेको छ । शुक्रवार १ करोड ८१ लाख, शनिवार ३ करोड ६४ लाख, आइतवार ४ करोड ७१ लाख कमाएको फिल्मले सोमवार १ करोड ८८ लाख र मंगलवार १ करोड ७६ लाखको मात्र कमाई गर्‍यो ।

विकेन्डको अन्त्यसँगै फिल्मको कलेक्सनमा ठूलो गिरावट आउन थालेपछि बलिउडलाई अर्को फ्लप फिल्मको खतरा बढेको छ । तर, ‘उचाइँ’को ‘वर्ड अफ माउथ’ तगडा भएकाले व्यापार बढ्ने विश्वास लिइएको छ । राजश्रीका प्रायः फिल्म ‘वर्ड अफ माउथ’को बलमा विस्तारै बक्सअफिसमा चम्किएको इतिहास छ । त्यसैले पनि निर्माण टिम व्यापारमा गिरावट आए पनि अत्तालिएको छैन ।

सूरज बडजात्याद्वारा निर्देशित ‘उचाइँ’ले नेपाललाई निकै सुन्दर ढंगबाट पस्किएको छ । सम्भवतः सर्वोच्च शिखर सगरमाथा र त्यस आसपासका क्षेत्रलाई कुनै पनि विदेशी फिल्मले यति आकर्षक ढंगले देखाएका थिएनन् । यो फिल्मले नेपालको पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेल्ने विश्वास लिइएको छ । नेपालमा ७० प्रतिशत छायांकन भएको फिल्मको मूल कथा नै नेपालसँग जोडिएको छ ।

नेपालमा छायांकन भएका कारण ‘उचाइँ’ले नेपालमा भने व्यापार बढाउँदै लगेको छ । देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले उपलब्ध गराएको शोहरु हरेक दिन निलाम्मे हुनुले पनि फिल्मले नेपाली दर्शकलाई आकर्षित गरेको बुझ्न सकिन्छ । नेपालमा राजन पुरी, विराज कडरिया र सुनिल मानन्धरले मिलेर फिल्मलाई वितरण गरेका हुन् । फिल्मको व्यापारबाट नेपाली वितरक खुसी छन् ।