अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ढोरपाटन उपत्यकामा १५ शय्याको अस्पताल बन्दै

ढोरपाटन उपत्यकामा १५ शय्याको अस्पताल बन्दै


ढोरपाटन – पछिल्लो समय ढोरपाटन नगरपालिकाले यस क्षेत्रलाई विकाससँग जोड्न थालेको छ । यस वर्षदेखि वडा-९ को ढोरपाटन उपत्यकामा नगर अस्पताल निर्माण गर्न सुरु भएको छ ।

जिल्लाकै सबैभन्दा दुर्गम मानिने ढोरपाटनमा नगर अस्पताल बन्न थालेपछि स्थानीयवासी खुसी भएका छन् । केन्द्र सरकारले विनियोजन गरेको साढे रु १४ करोड ७६ लाख लागतमा अस्पताल निर्माण हुन लागेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक केशव थापाले जानकारी दिनुभयो । पाखाथरमा निर्माण हुन लागेको अस्पताल १५ शय्याको हुने थापाको भनाइ छ । पाँच वर्ष अगाडिसम्म ढोरपाटनमा कुनै पनि स्वास्थ्य संस्था थिएनन् ।

 नगरपालिकाले विसं २०७६ मा ढोरपाटन सामुदायिक स्वास्थ्य एकाइ र बर्थिङ सेन्टर स्थापना गरेको स्वास्थ्य शाखा संयोजक थापा बताउनुहुन्छ । त्यसभन्दा पहिले यहाँका स्थानीयवासी उपचारका लागि बुर्तिबाङ नै झर्ने गरेको उहाँको भनाइ छ । थापा भन्नुहुन्छ, ‘ढोरपाटनमा अहिले प्रसूति सेवाका लागि बर्थिङ सेन्टर छ, बर्थिङ सेन्टरसँगै नगरपालिकाले ढोरपाटन सामुदायिक स्वास्थ्य एकाइ सुरु गरेको छ, अहिले तीन स्वास्थ्यकर्मी र दुई कर्मचारीले सेवा दिइराख्नुभएको छ, हामी यहाँको सेवालाई थप विस्तार गर्ने योजनामा छौँ ।’

नगर उपप्रमुख धनबहादुर कायतले नागरिकको सहजताका लागि ढोरपाटनमा नगर अस्पताल निर्माण सुरु गरिएको बताउनुभयो । उहाँले वर्षौँदेखि यहाँका सयौँ नागरिक सामान्य स्वास्थ्य उपचारका लागि पनि बुर्तिबाङ धाउनुपर्ने बाध्यता रहेको जनाउँदै अस्पताल निर्माणपश्चात यहीँ उपचार गर्न पाउने बताउनुभयो ।

ढोरपाटन उपत्यका क्षेत्रमा खास गरी घुम्ती बसाइँ हुने गर्छ । यहाँका वडा नं ६, ७, ८ र ९ का करिब तीन हजार बढी नागरिक बस्ने गर्छन् । यहाँका बासिन्दा हिउँदको समयमा अधिकारीचौर, बोबाङ लगायतका ठाउँमा झर्ने र बर्खाको समयमा ढोरपाटन बस्ने गरेका उपप्रमुख कायत बताउनुहुन्छ । अस्पताल निर्माणपछि ढोरपाटनसँगै रुकुमको तकसेरा र हुकाम मैकोट तथा म्याग्दीको जलजलाका नागरिकलाई उपचारमा सहज हुने उहाँको भनाइ छ ।

“अस्पताल नजिक नहुँदा केहीले बाटोमै ज्यान गुमाउनुपरेको छ, यहाँ अस्पताल बनिसकेपछि ढोरपाटनका नागरिक मात्र नभइ रुकुम र म्याग्दीका बासिन्दाले पनि सेवा लिन पाउने छन्, अहिले सामुदायिक स्वास्थ्य एकाइबाट सामान्य उपचार हुने गरेको छ”, उहाँले भन्नुभयो । स्थानीय कुलबहादुर विकले अस्पताल नजिकमा नहुँदा धेरैले अकालमा ज्यान गुमाउनु परेको बताउनुभयो । उहाँले अहिले नजिकैमा स्वास्थ्य एकाइ सञ्चालनमा आए पनि सामान्य उचार मात्रै हुने गरेको बताउनुभयो ।

अस्पताल निर्माणका लागि एसी कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ । अस्पताल निर्माणका लागि सम्झौता भएर काम सुरु गरिएको निर्माण कम्पनीका प्रमुख दीपक अदैले बताउनुभयो । उहाँले आगामी २०८१ को असार मसान्तसम्म सक्ने गरी सम्झौता भएको र काम पनि सोहीअनुसार अगाडि बढाइएको जानकारी दिनुभयो ।