अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनविरोधी सरकारको विरुद्ध कानूनी राज्य स्थापना गर्न सडकमा आउँछौं : सुनिता बराल

जनविरोधी सरकारको विरुद्ध कानूनी राज्य स्थापना गर्न सडकमा आउँछौं : सुनिता बराल


काठमाडौँ – नेकपा एमालेको केन्द्रीय सदस्य तथा अनेरास्ववियुको अध्यक्ष सुनिता बरालले वर्तमान परमादेशी गठबन्धनको सरकारले जनादेशलाई लत्याउँदै अध्यादेशले सरकार टिकाउने खेलमा लागेको भन्दै आक्रोस जनाउनु भएको छ ।

सोमबार अध्यक्ष बरालले विज्ञप्ति जारी गर्दै अध्यादेश तत्काल फिर्ता नलिए जनविरोधी काम चलाउ सरकारको विरुद्ध कानुनी राज्य स्थापनाका लागि सडकमा आउने चेतावनी दिनुभएको हो ।

ताजा जनादेश आएर नयाँ सरकार बन्ने अवस्था आइसकेको बेला देउवा सरकारले दीर्घकालीन असर पर्ने निर्णयले संविधानको मर्म, कानुनी राज र लोकतन्त्रको धज्जी उडाएको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिमा अपराधीकरण र अपराधको राजनीतिकरण गर्ने गरी मन्त्रिपरिषद्को बैठकबाट गरिएको गैर संवैधानिक राजनीतिक निर्णयले कानूनसँग अन्तर्विरोध राख्ने मुद्दालाई कानुन संशोधन गरी खारेज गर्ने उद्देश्यले ल्याइएको उक्त अध्यादेश सत्तारोहणको लागि बहुमत जुटाउन गरिएको लज्जास्पद निर्णय हो भन्ने अनेरास्ववियुको ठहर छ ।’

अनेरास्ववियु जनविरोधी अध्यादेश तत्काल फिर्ता लिन माग गर्दै अध्यक्ष बरालले उक्त अध्यादेश फिर्ता नलिए अनेरास्ववियु जनविरोधी कामचलाउ सरकारको विरुद्ध कानुनी राज्य स्थापनाका लागि सडकमा आउने चेतावनी दिनुभयो।

अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान विरोधी दण्डहीनतालाई प्रशय दिँदै संसद्को अधिकार क्षेत्रमा प्रहार गर्ने अध्यादेश ल्याइ पुनः एकपटक कलङ्कित बनेको आरोप अनेरास्ववियुले लगाएको छ।

हिजो बसेको मन्त्रीपरिषद्को बैठकले अपराध संहिता संशोधन गर्ने गरी राजनीतिक मुद्धालाई फिर्ता लिने गरी अध्यादेश ल्याएको छ । तर राष्ट्रपतिबाट भने स्वीकृति भएको छैन।