बनेपा- जिल्लाको बेथानचोक गाउँपालिका ४ मा बस दुर्घटना भएको छ । गाउँपालिकाको वडा नं ४ स्थित चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा मंगलबार साँझ ६ बजेतिर बस दुर्घटना भएको हो । दुर्घटनामा केहीको हताहती भएको प्रहरीले आशंका गरेको छ ।
बनेपा नगरपालिका वडा नं ११ बाट ब्रतबन्धका लागि गाउँपालिकाको वडा नं ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएकाहरुमध्ये २ जनालाई बनेपास्थित शिर मेमोरियल अस्पतालले मृत घोषणा गरिसकेको छ । मृतकको पहिचान भएको छैन ।
घाइतेहरुको शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अध्यक्ष अधिकारीका अनुसार शिर मेमोरियलमा १४ जनाको उपचार भइरहेको छ । बसमा सवार कति थिए भन्ने यकिन भएको छैन । केही व्यक्ति मृत्यु भएको अस्तापललाई उद्धृत गर्दै अध्यक्ष अधिकारीले बताउनुभएको छ ।
घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर समेत प्रयोग गरी उद्धार कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले जानकारी दिनुभयो ।




प्रतिक्रिया