रूपन्देही – राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको बताउनुभएको छ ।
बिहीबारदेखि बुटवलमा सुरुभएको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले व्यापार घाटा बढिरहेको, आयात नियन्त्रण नभै झनै विस्तार भएको र मुद्रा सञ्चितीमा अभूतपूर्व चाप परेको बताउनुभएको हो ।
राष्ट्रपति भण्डारीले मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउन आयात प्रतिस्थापन गर्ने खालका वन पैदावार र जडिबुटीजन्य उद्योग स्थापनामा जोड दिनुपर्ने र निर्यात बढाउनुपर्ने बताउनुभएको छ । उहाँले खेतीयोग्य जमिन बाँझो नराख्नका लागि युवा जनशक्तिलाई कृषि क्षेत्रमा लगाउनुपर्ने र कृषिजन्य उत्पादनलाई बढाएर मात्र व्यापार घाटा कम गर्न सकिने बताउनुभएको छ ।
उहाँले यस्ता प्रदर्शनीले उद्योगी, व्यवसायीबीच व्यवस्थापकीय अनुभव आदानप्रदान गर्न र महिला उद्यमीको संख्या वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थितरुपमा सञ्चालन गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बुटवल र भैरहवा नेपालकै अग्रणी औद्योगिक केन्द्रका रुपमा अघि बढेको भन्दै प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले प्रदर्शनी एवं महोत्सवहरुले नेपाली उत्पादनहरुको प्रवर्द्धन हुनुका साथै अवसर पनि सिर्जना हुने बताउनुभयो ।




प्रतिक्रिया