काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्र संकटको डिलमा रहेको बताउनुभएको छ । सोमबार अर्थमन्त्रीको पदभार ग्रहण गर्दै उहाँले चुनौतीको डिलमा रहेको अर्थतन्त्रलाई सबैको राय दुनियाँको अनुभवलाई लिए समस्या समाधानमा लाग्ने बताउनुभयाे ।
‘अर्थतन्त्रका चुनौतिको कारण खोजेर, समाधानमा प्रभावकारी सम्वाद गर्ने, पहिचान, सामाधान गर्नेछु,’ उहाँले भन्नुभयो, ‘चिन्तित भएको अर्थ जगतलाई आश्वस्थ बनाउन चाहन्छु, हामी समाधान गर्छौं ।’ उहाँले चालु खर्च घटाउने, स्रोत व्यवस्थापन गर्दै वित्तीय क्षेत्रका समस्या समाधान गर्न आवश्यक कदम चाल्ने बताउनुभयो ।
अर्थमन्त्री पौडेलले पुर्वाग्रहमा विश्वास नराखी अर्थतन्त्रको सुधारमा काम गर्ने बताउनुभयाे । मन्त्री पौडेलले अर्थतन्त्रमा धेरै ठूला समस्या र संकट रहेकोले समस्या पहिचान र समाधानमा पहल गर्ने बताउनुभयो ।
‘म अघिल्ला दुवै कार्यकालमा जुन चुनौतीको घेरामा थिएँ, ती सामना गर्दै सफल कार्यकाल बिताएको थिएँ । त्यसले आत्मविश्वास बलियो बनाएको सम्झना छ,’ उहाँले भन्नुभयो, ‘यसपटकका समस्या अझ गम्भीर छन् । मुलुकको समस्या काबु बाहिर छैन भन्ने विश्वास लिएर आएको छु ।’
उहाँले सबैको मनोबल उठाउने विश्वास लिएर आएको र यी समस्या कसरी समाधान गर्ने भन्ने विगतको सफलताले उच्च मनोबल सहित काम गर्ने बताउनुभयो ।
तेस्रो कार्यकालमा सफल हुन सक्छु वा सक्दिन भन्ने प्रश्न छ रहेको भन्दै पूर्वाग्रहमा विश्वास नराख्ने उहाँले बताउनुभयो । ‘म लिबरल थिएँ, म सबैप्रति उच्च सम्मान गर्छु, कार्यसम्पादनमा सहजीकरण गर्छु,’ उहाँले भन्नुभयो, ‘सबैबाट परिभाषित जिम्मेवारी पुरा गर्ने क्रममा किन्तु परन्तु नगर्नु होला । अर्थले आफ्नो सामार्थ्य कायम गर्न नसके राष्ट्रको सामार्थ्य कमजोर हुन्छ, हामीलाइ गल्ती गर्ने छुट छैन ।’
पौडेलले सुशासन प्रति आफ्नो गहिरो चासो रहेको भन्दै त्यसको विपक्षमा आफू सहिष्णु नहुने चेतावनी जनाउनुभएको छ । ‘मन्त्रालयका काम र सबैका कामप्रति आलोचना विरोध, निन्दा सुन्न नपरोस्, आम नागरिकले प्रशंसा गर्ने गरी कार्यसम्पादन गरौं,’ उहाँले भन्नुभयो, ‘म पारदर्शीतामा विश्वास गर्छु, बन्द कोठामा कुनै काम हुने छैन, सबै काम टुंडिखेल जस्तै खुला ढङ्गले हुनेछन् ।’




प्रतिक्रिया