अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण छिट्टै सुरु गर्छौं : प्रधानमन्त्री दाहाल

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण छिट्टै सुरु गर्छौं : प्रधानमन्त्री दाहाल


पोखरा – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु गर्ने बताउनुभएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज यहाँ उद्घाटन गर्दै उहाँले नेपाल जस्तो भूपरिवेष्ठित मुलुकको कनेक्टिभिटीका लागि हवाईमार्ग सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आवश्यक रहेको बताउनुभयो ।

‘मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा आजदेखि पोखरामा विमानस्थल सञ्चालनमा आएको छ’, उहाँले भन्नुभयो, ‘यो विमानस्थल सञ्चालनमा आएसँगै पोखरासँग अन्तर्राष्ट्रिय क्षेत्रसँगको सम्बन्ध स्थापित भएको छ ।’ प्रधानमन्त्री दाहालले पोखरा विमानस्थल निर्माणका लागि चिनियाँ राजदूतावासमार्फत तथा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रत्यक्ष भेटेर पनि छिटो निर्माणका लागि आफूले पहल गरेको बताउनुभयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठक आफ्नो गुरु भएको भन्दै प्रधानमन्त्री दाहालले उहाँको प्रशंसा गर्नुभयो ।

प्रधानमन्त्री दाहालले चीनसँगको सीमा नाका खुलाइ सहज बनाउने तथा रेलसेवा लगायतका परियोजना निर्माणमा सहयोग गर्नसमेत चीन सरकारसमक्ष आग्रह गर्नुभयो । उहाँले पोखरा विमानस्थल सञ्चालनमा आएपछि गण्डकी प्रदेशसँगै सिङ्गो राष्ट्रको आर्थिक विकास हुनेमा दुई मत नरहेको उल्लेख गर्नुभयो । ‘म गण्डकी प्रदेशबाट निर्वाचित भई प्रधानमन्त्री बनेको छु, यहाँका जनताले मलाई तेस्रोपटक प्रधानमन्त्रीका रुपमा सेवा गर्ने अवसर दिनुभएको छ, यसका लागि धन्यवाद दिन चाहन्छु’, उहाँले भन्नुभयो ।

सामाजिक न्याय, सुशासन र जनताको समृद्धिको मूल मन्त्र बनाई आफू नेतृत्वको सरकारले काम गर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो । ‘मैले यसअघि लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेतृत्वदायी भूमिका निर्वाह गरे, अब आर्थिक विकास, समृद्धि तथा सुशासन प्रवद्र्धन गर्दै देशलाई विकासको गतिमा अघि बढाउने छु’, उहाँले भन्नुभयो ।