काठमाडौं – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारको परराष्ट्रनीति एउटै हुन नसकेको गुनासो गर्नुभएको छ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले अन्य मुलुकमा कुनैपनि पार्टीको सरकार बनेपनि एउटै परराष्ट्रनीति भएको तर नेपालमा भने एउटै परराष्ट्रनीति हुन नसकेको बताउनु भयो ।
उहाँले नेपालमा सत्ता परिवर्तनसँगै परराष्ट्रनीतिहरु पनि परिवर्तन हुने गरेको भन्दै जुनकुनै सरकार आए पनि एउटै परराष्ट्र नीति हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष तिमिल्सिनाले नेपालमा सहसचिव, सचिवहरु नै राजनीतिक दलहरुका मान्छे हुने गरेको र आफ्नो स्वार्थपूर्तिका लागि नीति, नियम बनाउँदा प्रणाली बिग्रिएको बताउनु भयो ।
अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘सचिव, सहसचिवहरु पार्टीका मान्छे भइदिँदा समस्या भइरहेको छ। उमेर कम भएको मान्छे ५८ मा उमेरहद बनाएर आफू त्यो स्थानमा हुन चाहनुहुन्छ, ६० वर्ष भएको मान्छे रोकेर आफू नै बस्न चाहनुहुन्छ। म त तपाईंको पार्टीको हजुर, यो ऐन ल्यायौँ भनेर मन्त्रीहरुसँग जान्छन्। त्यसपछि के हुन्छ? हाम्रोमा व्यवहारिक अभ्यास यही नै छ। धेरै यसरी बिग्रिएको छ। हाम्रो परराष्ट्रनीति के हो, अन्य देशमा हेर्दा जुनसुकै सरकार आए पनि हामीलाई हेर्ने एउटै दृष्टिकोण छ। तर हाम्रा त त्यही पार्टीकै मन्त्री फरकफरक भए भने फरक फरक हुन्छ। यस्तो कुरामा नीति अनुसन्धान प्रतिष्ठानले अध्ययन गर्न जरुरी छ।’
अध्यक्ष तिमिल्सिनाले सबै पदाधिकारीहरुले निष्पक्ष भएर काम गरेको खण्डमा राजनीतिक नियुक्तिको दबाब कम हुँदै जाने बताउनु भयो ।




प्रतिक्रिया