अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लागुऔषध कारोबारमा गाउँपालिका अध्यक्ष घर्तीलाई साढे ३ वर्ष कैदको फैसला

लागुऔषध कारोबारमा गाउँपालिका अध्यक्ष घर्तीलाई साढे ३ वर्ष कैदको फैसला


बागलुङ-बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा तीन वर्ष छ महिना कैद फैसला भएको छ।

अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासले तीन वर्ष छ महिना कैदसहित रु ५० हजार जरिवाना फैसाला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

निसीखोला –६ को वडाध्यक्ष हुँदा विसं २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका घर्तीमाथि लागेको लागुऔषध गाँजारचरेससम्बन्धी कसुर २०७९ पुस ३ गते ठहर भएको थियो।

सोमबार जिल्ला अदालत बागलुङका न्यायाधीश भट्टको इजलासले घर्तीमाथि लागेको कसुर ठहर गर्दै सजाय निर्धारणको गरेको हो। इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई तत्कालीन अवस्थामा घरबाटै पक्राउ गरेको थियो।

बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा ‘सप्लाई’ गर्ने व्यक्तिको खोजी गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो।तत्कालीन वडाध्यक्ष घर्तीको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा भेटिएको थियो।

जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरी २०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागुऔषध गाँजारचरेस नियन्त्रण ऐन २०३३ सम्बन्धी मुद्दा दर्ता भएको थियो। फैसलाको पूर्णपाठ आउन बाँकी रहेको सूचना अधिकारी भण्डारीले बताउनुभयो ।