काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनप्रिय तुल्याउन जनप्रतिनिधिले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।
आज स्पिकर्स फोरम नेपालले आयोजना गरेको ‘प्रदेशसभाको आगामी कार्यभार र स्पिकर्स फोरमको दायित्व’ अन्तक्रिया कार्यक्रममा उनले केही कानुनी जटिलताकाबीच पनि सङ्घ र प्रदेशसभामार्फत् सकारात्मक काम भएको भन्दै त्यसका आधारमा आगामी कार्यलाई प्रभावकारी बनाइनु पर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘अबका दिनमा परिवर्तनलाई संस्थागत गर्न लोकतान्त्रिक गणतन्त्रलाई जनप्रिय र लोकप्रिय बनाउन जनप्रतिनिधिले व्यवहार बदलेर जनताको पक्षमा काम गर्न जरुरी छ ।’
अध्यक्ष तिमिल्सिनाले देशको आर्थिक अवस्थालाई मध्यनजर गर्दै सङ्घ तथा प्रदेशमा मन्त्रिमण्डल सानो आकारको बनाइ आर्थिक मितव्ययिता कायम गरिनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष तिमिल्सिनाले प्रदेशसभा र संरचना भद्दा र खर्चिलो भयो भनेर आलोचना हुनेगरेको प्रसङ्ग उल्लेख गर्दै कमिकमजोरीलाई सच्याएर बलियो बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘प्रदेशमा मन्त्रालय धेरै भए काम प्रभावकारी भएन भन्ने आलोचना बढेको छ । सांसद भएपछि मन्त्री हुनैपर्छ भन्ने प्रवृत्ति रोकिनुपर्छ । अहिलेको आलोचनालाई भविष्यमा सुधार गरेर जानुपर्छ ।’




प्रतिक्रिया