अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

व्यवसायीलाई रातो कार्पेटले स्वागत गर्छौं : गृहमन्त्री लामिछाने

व्यवसायीलाई रातो कार्पेटले स्वागत गर्छौं : गृहमन्त्री लामिछाने


काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।

नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँग बुधबार भएको छलफलमा गृहमन्त्री लामिछानेले विगतका सरकारले उद्योगी व्यवसायीहरूलाई जस्तो आँखाले हेरे पनि वर्तमान सरकारले रातो कार्पेट ओछ्याएर स्वागत गर्ने बताउनु भएको हो ।

उहाँले उद्योग व्यवसायको सुरक्षाका लागि गृह मन्त्रालयले गर्नुपर्ने कुनै पनि काममा नचुक्ने प्रतिबद्धतासमेत जनाउनु भयो । गृहमन्त्री लामिछानेले सरकारले उद्योग व्यवसाय क्षेत्रको काम गर्न छुट्टै युनिट खडा गर्ने र उद्योगी व्यवसायीहरू साना कामका लागि मन्त्रालय वा कार्यालयमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्नेसमेत बताउनु भयो । उहाँले उद्योगी व्यवसायीहरूले आफ्नो व्यापार वृद्धि गरी मुलुकको राजस्व वृद्धिमा ध्यान दिन आग्रह गर्नुभयो ।   

उहाँले उद्योगी व्यवसायीहरूले सरकारी कार्यालय, कार्यालयका हाकिम र राजनीतिज्ञहरूलाई भेटेर समय खेर फाल्नु नपर्ने बताउँदै सरकारको नीतिगत विषयमा समस्या आए सल्लाह सुझाव दिन व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।

गृहमन्त्री लामिछानेले उद्योगी व्यवसायीहरूले पैसा कमाउनुलाई अपराध गर्नुजस्तो व्याख्या गर्ने अवस्थाको अन्त्य गर्ने दाबी गर्नुभयो । उहाँले उद्योगी व्यवसायीहरूले सही ढङ्गले स्वच्छ प्रतिस्पर्धा गरी व्यापार व्यवसायबाट पैसा कमाउँदा नै मुलुकको उन्नति हुने बताउनु भयो ।

उहाँले उद्योग व्यवसाय बढ्दै जाँदा मुलुकभित्र रोजगारीको सिर्जना हुने बताउनु भयो । उहाँले कानुनभन्दा बाहिर रहेर काम गर्नेहरूको संख्या ठूलो रहेको भन्दै फोहोर सफा गर्न समय लाग्ने बताउनु भयो । उहाँले  फोहोरको चाङ सफा गर्दा बढी दुर्गन्ध आउन सक्ने भन्दै त्यसका लागि उद्योगी व्यवसायीहरूले दुर्गन्ध सहन तयार हुनुपर्ने बताउनु भयो ।

गृहमन्त्री लामिछानेले आफूले कसैलाई जोगाउन र कसैलाई फसाउनु पर्ने कारण नभएको उल्लेख गर्दै कानुनीको परिधिभित्र रहेर काम गर्ने बताउनु भयो ।

उपप्रधान तथा गृहमन्त्री लामिछानेले प्रभाव कालोबजारीको कारण मुलुकको अर्थतन्त्रमा प्रभाव परेका भन्दै कोलोबजारी गर्नु गृह मन्त्रालयका लागि चुनौतीको विषय भएको बताउनु भयो । उहाँले कालोबजारी, चोरी पैठारी नियन्त्रण गर्ने विषय मन्त्रालयको प्रमुख प्राथमिकतामा पर्ने बताउनु भयो ।