अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सांसदलाई अध्यक्ष ओलीले भन्नुभयो : सधैं ज्ञानी र विनम्र हुनुहोस्

एमाले सांसदलाई अध्यक्ष ओलीले भन्नुभयो : सधैं ज्ञानी र विनम्र हुनुहोस्


काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय गतिविधिमा सहभागी हुने कुरालाई पहिलो प्राथमिकतामा राख्न पार्टीका नवनिर्वाचित सांसदहरुलाई निर्देशन दिनुभएको छ।

शनिवार नयाँ बानेश्वरमा एमाले सांसदका लागि गरिएको दुई दिने अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सांसदहरूलाई ज्ञानी र विनम्र हुन सल्लाह दिनुभयो । उहाँले ज्ञान र घमण्ड सधैँ एकै ठाउँ बस्न नसक्ने भन्दै ज्ञानलाई मात्र लिएर हिँड्न सांसदहरूलाई आग्रह गर्नुभयो ।

पार्टी संसदीय दलको बैठक र अन्य सबै संसदीय गतिविधिहरुको कामलाई प्राथमिकता दिएर अघि बढन अध्यक्ष ओलीले पार्टीका सांसदहरुलाई सचेत समेत गराउनुभयो ।

उहाँले सांसदहरूलाई संसदीय दलको बैठक र संसदीय गतिविधिमा जतिबेला बोलाइएको छ त्यतिबेला उपस्थित हुन आग्रह गर्दै समय पालनामा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘सबै थोक जानेको छु भनेर सम्झनुहुँदैन । सबै जानेको छु भन्ने सोच्यो भने मान्छे बिग्रन्छ । सबै थोक जान्दछौँ भन्ने सोच्यौँ भने त्यसले दिमागमा घर गर्छ । दिमागमा घमण्ड बस्न थालेपछि त्यहाँ बस्न सक्दैन । ज्ञान र घमण्ड कहिले पनि एकै ठाउँ बस्न सक्दैन । कि ज्ञान बस्छ कि घमण्ड बस्छ । दिमागमा ज्ञानलाई बस्न दिने हो भने तत्काल घमण्डलाई बाहिर निकाल्नुपर्छ । दिमागमा घमण्ड पस्न पाएको छैन भने पस्न दिनुहुँदैन ।’

उहाँले ज्ञानका लागि सधैँ दिमागको ढोका खुला राख्न आग्रह गर्नुहुँदै सबै सांसदहरूलाई विनम्र बन्न आग्रह गर्नुभयो ।