अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सनातन हिन्दु राज्यको अभियान सुरु गर्दै दुर्गा प्रसाईँ

सनातन हिन्दु राज्यको अभियान सुरु गर्दै दुर्गा प्रसाईँ


काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँले  आगामी फागुन १ गतेदेखि सनातन हिन्दु राज्यको लागि अभियान सुरु गर्ने हुनुभएको छ ।

प्रसाईँले माओवादीले फागुन १ मा बन्दुक पड्काएर जनयुद्ध सुरु गरेको दिनपारि तामाको कलशमा दियो बालेर अभियान सुरु गर्न लाग्नुभएको हो ।

प्रसाईँले आफ्नो अभियान फागुन १ देखि मेची पुलबाट सुरु भई देशभरि नै चल्ने र काठमाडौँमा समेत चल्ने बताउनुभयो ।

प्रसाईँले यो अभियानमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राजासहित राजपरिवारलाई समेत नागरिकको हैसियतमा जोडिन आग्रह गर्नुभयो । उहाँले राष्ट्र र धर्म जोगाउने अभियानमा विचार, पार्टी र वाद हेर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो ‘२०५२ मा साल फागुन १ गते स्कूल पढाउने शिक्षकलाई काटेर बम पड्काएर माओवादीले जनयुद्ध सुरु गर्‍यो । तर मैले देशमा हत्याहिंसा गरेर होइन शान्तिपूर्ण ढङ्गले पनि परिवर्तन गर्न सकिन्छ भन्ने सन्देश दिन तामाको कलशमा दियो बालेर वैदिक सनातन सहितको हिन्दु राज्य कायम गर्ने अभियान सुरु गर्न लागेको हुँ । मेरो अभियानमा मेरा हजुरबा केपी ओलीदेखि ज्ञानेन्द्र वीरविक्रम साहसमेत नागरिकको हैसियतमा उपस्थित हुन सक्नुहुन्छ ।’

प्रसाईँले आफ्नो अभियानको एजेन्डाहरू जानकारी दिनुहुँदै नेपालमा सङ्घीयतासमेत आवश्यकता नरहेको बताउनुभयो।  वैदिक सनातन सहितको हिन्दु राज्य कायम गर्ने, सङ्घीयता खारेज गर्ने, समानुपातिक प्रणाली खारेज गर्ने, पिछडिएको वर्गका आधारमा आरक्षण प्रदान गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, देशमा बेचिएका कल कारखाना फिर्ता गरी पासपोर्टको खेती बन्द गर्ने र बैङ्कको ब्याजदर ६ प्रतिशतमा झार्ने लगायतका एजेन्डामा अभियान केन्द्रित रहने उहाँले बताउनुभयो ।

अभियानबारे जानकारी दिन राजधानीमा शनिवार आयोजित कार्यक्रममा प्रसाईँले बैङ्कको चर्को ब्याजदरका कारण नागरिकहरू विदेशिन बाध्य हनु परेको देखि व्यवसायीहरुले आत्महत्याको बाटो रोज्न बाध्य भएको बताउनुभयो ।

प्रसाईँले देशमा धर्म हराएपछि देश विनाशतिरको बाटोमा जानु बाहेक अरू विकल्प नभएको भन्दै अब नेपाललाई सनातन सहितको हिन्दु राज्य घोषणा गर्न ढिलाइ गर्न नहुने तर्क राख्नुभयो । 

ऋषिमुनि र भगवान्हरूले बास गरेको भूमिमा राक्षसहरूले राज गर्न थालेपछि देशको अवस्था झनझन बिग्रँदै गएको प्रसाईँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘धर्म नास हुँदै गएपछि देशमा रहेका युवायुवतीहरू बिदेसिन बाध्य भएका छन् भने देशमा भ्रष्टाचार समेत बढ्दै गएको छ । हिजोका दिनसम्म लुट्न हुँदैन, अपराध गर्न हुँदैन भगवानले देख्नुहुन्छ भनेर पनि अपराधिक गतिविधि एवम् भ्रष्टाचार कम्ति भएको थियो । अहिले देशमा त्यो अवस्था छैन ।’

हरेक धर्मका देश हुँदा बिश्वामा एक मात्र हिन्दु राज्य नेपाल भनेर पहिचान गराउन पनि यो माग आवश्यक रहेको उहाँको तर्क रहेको थियो । उहाँले नेपाल वैदिक सनातन सहितको हिन्दु राज्यको माग गर्ने आफ्नो अभियानमा सबैलाई जोडिन आग्रहसमेत गर्नुभयो ।

Skip This