अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोलिदेखि मौसममा उल्लेख्य सुधार आउने

भोलिदेखि मौसममा उल्लेख्य सुधार आउने


काठमाडौँ-देशका विभिन्न भाग, विशेषगरी मध्य भूभागमा भएको भारी वर्षा आज रातिदेखि कम हुँदै भोलि (सोमबार) देखि मौसममा उल्लेख्य सुधार आउने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय प्रणाली र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालका विभिन्न भूभागमा भारी वर्षा गराएको हो।

विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा बागमती प्रदेशको मकवानपुर र चितवन, गण्डकी प्रदेशको म्याग्दी, स्याङ्जा, तनहुँ र नवलपरासी पूर्व तथा लुम्बिनी प्रदेशको पाल्पा र नवलपरासी पश्चिमका केही स्थानमा १५० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ। यसैगरी कास्की, लमजुङ, बागलुङ, पर्वत, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची र सर्लाही लगायतका जिल्लाहरूमा १०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ।

हाल उक्त मौसमी प्रणाली बिस्तारै कमजोर बन्दै गएको भए पनि आज दिउँसो देशका पहाडी तथा तराईका केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहेको छ। मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा आज दिउँसो पनि भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। निरन्तरको वर्षाका कारण जमिन गलिसकेको, नदी तथा खोलाहरूमा जलसतह बढेको र पहिरोको जोखिम उच्च रहेकाले विभागले प्रभावित मध्य भूभागहरूमा ‘रातो’ रङको उच्च सतर्कता (प्रतिकार्य) चेतावनी जारी गरेको छ।

आज रातिदेखि भने मौसममा निकै सुधार आउने र भारी वर्षाको सम्भावना नरहेको मौसमविद् अधिकारीले जानकारी दिए। रातिको समयमा कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा मात्र मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

त्यसैगरी भोलि सोमबारदेखि देशभर नै मौसम सफा हुँदै जानेछ। विभागले भोलिका लागि देशभर नै कुनै मौसमी जोखिम नरहेको जनाउँदै ‘हरियो’ सङ्केत जारी गरेको छ। सोमबारदेखि तराई क्षेत्रमा घाम लाग्ने र पहाडी भूभागमा आंशिक बदली रही मौसम सामान्य बन्दै जाने भएकाले सर्वसाधारणले आफ्ना दैनिक कामकाज सहज रूपमा सञ्चालन गर्न सक्ने विभागले जनाएको छ।