अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीलाई शिक्षा र श्रम मन्त्रालयको थप जिम्मेवारी

प्रधानमन्त्रीलाई शिक्षा र श्रम मन्त्रालयको थप जिम्मेवारी


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीको राजीनामा पछि उहाँहरुले सम्हालेको मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने गरी तोक्नुभएको हो।

प्रधानमन्त्री ‘प्रचण्ड’ को सिफारिशमा राष्ट्रपति भण्डारीले ती मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई नै तोक्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार आफ्नो पार्टीकोतर्फबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाएको थियो । सो पार्टीका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा शिशिर खनाल सहभागी हुनुहुन्थ्यो । उहाँहरुले आफ्नो पदबाट राजीनामा दिनुभएपछि ती मन्त्रालयको नेतृत्व खाली भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकोतर्फबाट सरकारमा सहभागी भएका मन्त्रीले आइतबार साँझ प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउनुभएको थियो ।

यसअघि प्रधानमन्त्री प्रचण्डले युवा तथा खेलकुद र वन तथा वातारण मन्त्रालयकाे पनि जिम्मेवारी लिनुभएको थियो । त्यस्तै, तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुरानाे नागरिकता कायम नरहेकाले उहाँको सांसद पद बदर भएको सर्वोच्च अदालतको फैसला गरेपछि लामिछानेले राजीनामा दिनुभएको थियो ।

लामिछानेले राजीनामा दिनुभएपछि गृह मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्दै आउनुभएको छ ।