अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रक्षामन्त्री उप्रेतीले १ फागुनदेखि भारत भ्रमण गर्ने

रक्षामन्त्री उप्रेतीले १ फागुनदेखि भारत भ्रमण गर्ने


काठमाडौं – रक्षामन्त्री हरिप्रसाद उप्रेतीले आगामी फागुन १ देखि ५ गतेसम्म भारत भ्रमण गर्नुहुने भएको छ। मन्त्रिपरिषद्को बैठकले रक्षामन्त्री उप्रेतीको नेतृत्वको भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेग्मीले बताउनुभयो ।

उहाँले रक्षामन्त्रीको भारत भ्रमण नियमित सुरक्षासम्बन्धी दुई देशीय छलफलको आयोजना गर्ने बैठक भएको बताउनुभयो । त्यस्तै बैठकले आगामी फागुन ५ र ६ गते भारतमा आयोजना हुने नेपाल–भारत विद्युत् व्यापार सम्झौताअन्तर्गतको संयुक्त कार्य समूह तथा संयुक्त सञ्चालक समितिको दशौँ बैठकमा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ ।

त्यसैगरी अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको आयोजनामा अष्ट्रियाको भियनामा आगामी चैत ६ गतेदेखि ८ गतेसम्म हुने ‘टीसी एसिया एन्ड दि प्यासिफिक एनएलओ वर्कसप’ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव (विज्ञान तथा प्रविधि) प्रमिलादेवी शाक्य बज्राचार्यलाई भाग लिन स्वीकृति दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

बैठकले फागुन १ गतेदेखि ३ गतेसम्म थाइल्याण्डको बैंककमा हुने क्षयरोग, एचआईभी एड्स र मलेरियासम्बन्धी दक्षिण पूर्वी एसिया क्षेत्रका मुलुकको गोष्ठीमा भाग लिनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा सङ्गीता कौशल मिश्रलाई सहभागी हुन स्वीकृति दिने निर्णय भएको सञ्चारमन्त्रीले बताउनुभयो ।