अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चैतपछि मात्रै चितवन-२ मा उपनिर्वाचन हुन्छ: प्रमुख निर्वाचन आयुक्त थपलिया

चैतपछि मात्रै चितवन-२ मा उपनिर्वाचन हुन्छ: प्रमुख निर्वाचन आयुक्त थपलिया


काठमाडौं – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी चैत महिना अघि चितवन क्षेत्र-२ मा उपनिर्वाचन गर्न नसकिने बताउनु भएको छ।

मतदाता नामावली अद्यावधिक गरेर मात्र उपनिर्वाचनको प्रक्रिया सुरु हुने उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘राष्ट्रपतिको निर्वाचनअघि उपनिर्वाचन गर्न समय पुग्दैन।’

आयुक्त थपलियाले भन्नुभयो, ‘सरकारसँग सुरक्षा र बजेट माग गरेर उपनिर्वाचनको मिति आयोगले नै तोक्ने हो। उपनिर्वाचनको मिति तोक्ने अधिकार आयोगलाई नै छ। त्यसअघि मतदाता नामावली अद्यावधिक गर्नुपर्ने हुन्छ। प्रदेशको मात्र भएको प्रदेशभरिको गरे पुग्ने थियो । संघीय संसदको चुनाव भएकोले देशभरिको जो पनि योग्यता भएको मतदाता उम्मेदवार हुने पाउने भएकोले मतादाता नामावली अद्यावधिक गर्नुपर्ने हुन्छ। आयोगले सुरुमा यसको तयारीमा जुट्दैछ।’

नागरिकता सम्बन्धमा सर्वोच्च अदालतको फैसलाले चितवन २ बाट निर्वाचित रवि लामिछानेको पद गुमेपछि सो क्षेत्रमा पुनः निर्वाचन हुन लागेको हो । देशभर मतदाता नामावली अद्यावधिक सुरु गरेपछि कम्तीमा ४० दिन समय लाग्ने भन्दै प्रमुख आयुक्त थपलियाले त्यसपछि मात्रै उपनिर्वाचनका लागि आयोगले समय तोक्न सकिने बताउनुभयो ।

आयोगले मतदाता नामावली अद्यावधिक गर्नका लागि छिट्टै मिति तोकेर काम सुरु गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रपतिलाई आयोगको वार्षिक प्रतिवेदन बुझाउने, नयाँ राष्ट्रपतिको निर्वाचन सकेपछि मात्रै उपनिर्वाचनको विषयमा प्रवेश गर्ने आयोगको तयारी छ।’

राष्ट्रपतिको निर्वाचन अघि उपनिर्वाचनको सम्भावना नरहेको बतानुहुँदै उहाँले छिटोमा आगामी चैत मसान्तपछि मात्र गर्न सकिने बताउनुभयो ।

गत मंसिरमा भएको प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट भारी मतान्तरले निर्वाचित हुनुभएको थियो । लामिछानेले ४९ हजार तीनसय मत पाउँदा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ मत पाउनु भएको थियो।