अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाललाई थप मानवीय सहायता उपलब्ध गराउँछु : आइएफआरसी महासचिव चापागाईं

नेपाललाई थप मानवीय सहायता उपलब्ध गराउँछु : आइएफआरसी महासचिव चापागाईं


काठमाडौं – रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिव जगन्नाथ चापागाईंले  मानवीय सेवाका क्षेत्रमा नेपाललाई थप सहायता उपलब्ध गराउने जानकारी दिनुभएको छ। उहाँले भन्नुभयो, ‘म आइएफआरसीको १९२ देशको साझा महासचिव एवं कार्यकारी व्यवस्थापक हुँ, नेपाल सरकारले थप सहयोग चाहेमा  नेपालका लागि थप मानवीय सहयोग उपलब्ध गराउन म तयार छु ।’

चारदिने भ्रमण पूरा गरी आज आइएफआरसीको मुख्यालय स्विट्जरल्यान्डको जेनेभामा प्रस्थान गर्नुपूर्व महासचिव चापागाईंले सुरक्षित र उत्थानशील समुदाय निर्माण गर्न नेपाल सरकारको सहयोगीका रुपमा नेपाल रेडक्रस सोसाइटीले गरिरहेको मानवीय सेवाको प्रशंसा गर्नुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्टकक्षमा उहाँलाई आइएफआरसीका नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख अजमत उल्लाले विमानस्थलमा बिदाइ  गर्नुभएको थियो । महासचिव चापागाईंले भन्नुभयो, ‘रेडक्रस मानवीय सहयोगका लागि सर्वोच्च पवित्र निकाय हो, यसलाई अझ सुदृढ बनाउन सबैले हातेमाले गर्दै अगाडि बढौँ ।’

आइएफआरसीले नेपालमा कोरोना सङ्क्रमणको जोखिमका अवस्थादेखि नै ‘कोभिड–१९ प्रतिकार्य’ योजना बनाई जोखिमका बारेमा सञ्चार तथा सामुदायिक संलग्नता र जवाफदेहितासम्बन्धी अवधारणाका माध्यमबाट नेपाल सरकारलाई सहयोग गरेको थियो।

सन् २०१९ डिसेम्बर ३ मा २९ देश सहभागी ‘स्पेसल गभर्निङ बोर्ड’ को बैठकले चापागाईंलाई सर्वसम्मत रूपमा महासचिव पदमा चयन गरेको थियो। सन् २०२० फेब्रुअरी १ देखि सो संस्थाको महासचिवको जिम्मेवारी सम्हाल्दै आउनुभएका उहाँले यसअघि सन् २०२२ फेब्रुअरी १ मा नेपालको भ्रमण गर्नुभएको थियो । उक्त संस्थाको महासचिवको जिम्मेवारी सम्हाल्ने चापागाईं पहिलो नेपाली हुनुहुन्छ ।

‘म आइएफआरसीको १९२ देशको साझा महासचिव एवं कार्यकारी व्यवस्थापक हुँ, नेपाल सरकारले थप सहयोग चाहेमा  नेपालका लागि थप मानवीय सहयोग उपलब्ध गराउन म तयार छु ।’

– जगन्नाथ चापागाईं, महासचिव, आइएफआरसी

‘विपद् तथा स्वास्थ्यसँग सम्बन्धित आपत्कालीन परिस्थिति पूर्व, परिस्थितिको अवधि तथा परिस्थिति पछाडि सङ्कटापन्न नागरिकका आवश्यकता पूर्ति गर्ने र उनीहरूको जीवनस्तरमा सुधार ल्याउने कार्य जारी छ’, उहाँले भन्नुभयो । भ्रमणका क्रममा महासचिव चापागाईंले सो संस्थाको नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डल र नेपाल रेडक्रसले गरिरहेका मानवीय सेवाका गतिविधिबारे जानकारी लिएको थियो। उहाँले आइएफआरसीद्वारा नेपाल रेडक्रस सोसाइटीलाई  ३० नयाँ एम्बुलेन्स र १५  स्तरोन्नति गरिएका एम्बुलेन्स हस्तान्तरण गर्नुभएको थियो । ‘ख’ वर्गका सो एम्बुलेन्सले बिरामी तथा घाइतेहरुलाई स्वास्थ्य सस्थासम्म पु¥याइ जीवन रक्षा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

महासचिव चापागार्इंले आइएफआरसीद्वारा प्रकाशित ‘ग्लोबल डिजास्टर रिपोर्ट’ सार्वजनिकीकरण गर्नुभयो।  ‘विश्वास, समता र स्थानीय कार्य’  नामक सो प्रतिवेदनमा कोभिड–१९ महामारीले उत्पन्न गरेका स्वास्थ्य सङ्कट र सङ्कटकसँग जुध्न गरिएका विश्वव्यापी अनुभवलाई औँल्याइएको छ । भविष्यमा हुन सक्ने विपद्हरूलाई राम्रोसँग व्यवस्थापन गर्न कोभिड–१९ बाट महत्वपूर्ण सिकाइ भएको कुरा प्रतिवेदनले औँल्याएको छ । विश्वास, समता र स्थानीय कार्यहरू नै विपद् पूर्वतयारीका महत्वपूर्ण पक्ष भएको प्रतिवेदनले जनाएको छ ।

भ्रमणका क्रममा महासचिव चापागाईंले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीसँग  अलग अलग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो ।  साथै राजनीतिक नेतृत्वसँग समसामयिक विषयमा छलफल गरी रेडक्रस अभियानलाई सुदृढ बनाउन आग्रह गर्नुभएको थियो ।  आइएफआरसीले आफ्नो कार्यादेशअनुसार प्राकृतिक तथा मानव सिर्जित र जलवायु परिवर्तनले निम्त्याएका विपद् न्यूनीकरणमा निरन्तर मानवीय सहायता पु¥याउने गर्दछ ।

कोभिड–१९ बाट उत्पन्न विश्वव्यापी आर्थिक मन्दीका बाबजुद उहाँले सङ्कटापन्न समुदायलाई मानवीय सहायता पु¥याउन निर्वाह गर्नुभएको कुशल नेतृत्वले आइएफआरसीका सदस्य देशमा प्रशंसा कमाएको छ । स्विट्जरल्यान्डको जेनेभामा सचिवालय रहेको आइएफआरसीमा करिब एक करोड ५० लाख स्वयंसेवक सङ्गठित रहनाका साथै यसले सदस्य देशलाई स्थानीय रेडक्रस तथा रेडक्रिसेन्टका क्रियाकलापमा सहयोग गर्दै आएको छ ।