अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समतामूलक समाज निर्माणमा युवा अग्रसर हुनुपर्छ : महेश बस्नेत

समतामूलक समाज निर्माणमा युवा अग्रसर हुनुपर्छ : महेश बस्नेत


धनुषा – नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले समाजमा देखिएका विकृति, विसङ्गतिलाई निस्तेज पारी समतामूलक समाज निर्माणमा युवाहरू अग्रसर हुनुपर्ने बताउनुभएको छ।

राष्ट्रिय युवा सङ्घ नेपाल धनुषा कमिटीको शपथग्रहण कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले यस्तो बताउनु हो । उहाँले भन्नुभयो, ‘नेपालमा भएका हरेक किसिमका परिवर्तनमा युवाहरूको महत्त्वपूर्ण भूमिका छ । त्यसैले आगामी दिनमा समतामूलक समाज निर्माणमा युवाहरूले अग्रसरता लिनुपर्छ।’

युवा आन्दोलनको नेतृत्व गर्ने संस्था राष्ट्रिय युवा सङ्घ नेपाल रहेको चर्चा गर्दै विगतमा देशमा आतङ्क फैलाउने शक्तिलाई साइजमा राखेर जातीय राजनीतिलाई निस्तेज पार्ने काममा राष्ट्रिय युवा सङ्घ नेपालले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो। मधेशमा हिजो एमालेलाई विरोध गर्नेहरू अहिले एमालेको झण्डामुनि आएको उहाँले चर्चा गर्नुभयो ।

राष्ट्रिय युवा सङ्घ नेपालका इन्चार्ज समेत रहनुभएका नेता बस्नेतले एमाले जात, धर्मको राजनीति नगरेर वर्गीय राजनीतिको पक्षमा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले पनि केही शक्तिहरू सामाजिक सञ्जालमा एमाले विरोधी गतिविधिमा लागेको छ । त्यसकारण त्यस्ता गतिविधि रोक्न युवा सङ्घ नेपालका नेता-कार्यकर्ता सचेत र जागरुक हुनुपर्छ।’

राष्ट्रिय युवा सङ्घ नेपाल धनुषा जिल्ला आयोजक कमिटीका अध्यक्ष रोशन यादवको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवम् सङ्घ नेपालका सहइन्चार्ज सञ्जीव झा, एमाले मधेश प्रदेश कमिटी सदस्य एवम् युवा नेता लक्ष्मीनारायण यादव, युवा नेता लवकुमार यादवसहितको उपस्थिति थियो ।