अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनौतीलाई सम्भावनामा बदल्ने गरी सरकार अगाडि बढेको छ : उद्योगमन्त्री भण्डारी

चुनौतीलाई सम्भावनामा बदल्ने गरी सरकार अगाडि बढेको छ : उद्योगमन्त्री भण्डारी


कैलाली – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आजका राष्ट्रिय अभिभारा तथा राष्ट्रिय चुनौतीलाई सम्भावनामा बदल्ने गरी सरकार अगाडि बढेको बताउनुभएको छ।

कैलाली उद्योग वाणिज्य सङ्घले आज धनगढीमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उहाँले विशेषतः औद्योगिक क्षेत्रको विकासमा सरकार अगाडि बढेको र केही रुग्ण उद्योग सञ्चालनका लागि निजी क्षेत्रलाई आह्वान गरिने बताउनुभयो।

अझै थुप्रै औद्योगिक क्षेत्रका सम्भावना, त्यसका सम्भाव्यताबारे पहिचान गरेर आगामी आर्थिक वर्षमा सुदूरपश्चिमवासीले औद्योगिक क्षेत्रको विकासमा केही नयाँ उपलब्धि पाउने मन्त्री भण्डारीले जानकारी गराउनुभयो । उहाँले छिटोछरितो राज्यबाट हुने सेवा प्रवाहलाई कार्यान्वयन गर्ने कुरा सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुशासनको नीति सरकारले प्रदान गर्नेछ ।’

कुन ठाउँमा कुन वस्तुको सम्भाव्यता छ भनेर सम्पूर्ण अध्ययन पूरा गर्ने गरी मातहतका निकायलाई निर्देशन दिइसकिएको मन्त्री भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘आज पनि दार्चुलामा कपर खानी छ, सिसा खानी छ, बैतडीमा फलाम खानी छ, र अन्य जिल्लामा पनि थुप्रै सम्भावना छन्, यी कुरालाई पनि हामी प्राथमिकतामा राख्छौं ।’

उहाँले वर्तमान सरकार कञ्चनपुरस्थित दोधाराचाँदनीको सुक्खा बन्दरगाहलाई चाँडै कार्यान्वयनमा ल्याउने कुरामा वचनबद्धता व्यक्त गर्नुभयो । आगामी फागुन १ गते प्रधानमन्त्रीको उपस्थितिमा सुक्खा बन्दरगाहको अवलोकन गर्ने र त्यसलाई नेपाल–भारत सरकारबीचको समझादारीमा निर्माण कार्यलाई चाँडै प्रारम्भ गरिने उहाँले बताउनुभयो ।