तुलसीपुर – राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना सङ्क्रमणपछि विश्वको ध्यान आयुर्वेदतर्फ गएको बताउनुभएको छ।
नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद केन्द्रीय विद्यापीठ भवन उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले आयुर्वेद उपचार पद्धतितर्फ पछिल्लो समयमा आकर्षण बढ्दै गएकाले यसको विकास विस्तारमा ध्यान दिइने बताउनुभयो।
राष्ट्रपति भण्डारी आयुर्वेद स्नातक उत्पादन भएका जनशक्तिले देशको स्वास्थ्य क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान रहेको जानकारी दिनुभयो।
गणतन्त्र स्थापनापछि राष्ट्र प्रमुखबाट पहिलो संस्कृत विश्वविद्यालय पुग्नुभएका राष्ट्रपति भण्डारीले आयुर्वेद शिक्षण भवन संस्कृत विश्वविद्यालयका लागि ठूलो उपलब्धि भएको बताउनुभयो । उहाँले विगत स्मरण गर्नुहुँदै जननेता मदन भण्डारी संस्कृतकै उत्पादन भएकाले उहाँका रचना र जीवनमा सामाजिक, प्राकृतिक विशेषता प्राप्त जीवनकालमा देखिएको बताउनुभयो।
उहाँले प्राचीन र मध्यकालीन इतिहासका दुर्लभ ग्रन्थ संस्कृत भाषामै रहेकाले ती दुर्लभ ग्रन्थको विकास विस्तारमा लाग्नुपर्ने धारणा औँल्याउनु भयो।
संस्कृत भाषामा हिन्दु धर्मको मात्रै नभई बौद्ध र जैन धर्मसम्बन्धी विषयवस्तु समावेश भएको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले योग, प्रणायाम, मानसिक उपचार पद्धति आयुर्वेदमै रहेकाले व्यस्त जीवनशैलीमा यी उपचार पद्धतिको महत्त्वपूर्ण भूमिका रहने पनि बताउनुभयो । उहाँले नेपाली समाजमा आयुर्वेद सम्बन्धी सयौँ विज्ञ उपलब्ध रहेको र आदिवासी जनजातिमा समेत आयुर्वेद र ज्ञान सिर्जना भएकाले त्यो ज्ञान सिर्जना नयाँ पुस्ताका हस्तान्तरण गर्ने पाठ्यक्रम तयार गर्न विश्वविद्यालयलाई निर्देशन दिनुभयो ।
संस्कृत विश्वविद्यालयको चल अचल सम्पत्तिलाई सही रुपमा व्यवस्थापन गरेर आर्थिकरुपमा समेत सम्पन्न बनाउन अघि बढ्न निर्देशन दिनुभयो।
राष्ट्रपति भण्डारीले आयुर्वेद केन्द्रीय विद्यापीठका अध्यापनका लागि आवश्यक दरबन्दीको व्यवस्थापन गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले कोरोना कालमा विश्वविद्यालयले प्रदेशलाई भवन उपलब्ध गराएर नागरिकको उपचारमा ठूलो योगदान दिएकाले धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले नेपालको अर्थतन्त्र विकासका लागि जडीबुटीको प्रवर्द्धन गर्न आयुर्वेद क्याम्पसले योगदान दिने बताउनुभयो । उहाँले नागरिकको उपचारमा आयुर्वेदको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।
२०७४ साल विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त २४ करोड ७२ लाखको लागतमा भवन निर्माण भएको हो।
संस्कृत विश्वविद्यालयले २०६९ सालमा आयुर्वेद अध्ययन संस्थान स्थापना गरेर आयुर्वेद स्नातक तहको कक्षा सञ्चालन गरेको थियो । हालसम्म करिब दुई सय जनाले आयुर्वेद स्नातक तह (विएएमएस) उत्तीर्ण गरेका छन्। ५३ कोठे भवनमा आयुर्वेद शिक्षण भइरहेको छ ।
विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा भीमप्रसाद खतिवडाका अनुसार विश्वविद्यालयमा १७ वटा शास्त्रमा अध्ययन र अनुसन्धान गराइरहेको छ।






प्रतिक्रिया