सुर्खेत – २०२२ सालअघि जतिबेला सुर्खेत उपत्यका औंलो रोग संक्रमणको जोखिमपूर्ण स्थानका रूपमा चिनिन्थ्यो । महामारीकै रूपमा रहेको औंलोबाट पीडित यहाँका मानिस उपत्यका छोडेर माथिल्लो भेगमा बस्थे। उनीहरू हिउँदे बाली लगाउन मात्र उपत्यका झर्थे।
अहिले वीरेन्द्रनगरमा आउनेहरूको जति तँछाडमछाड छ, त्यस्तै त्यतिबेला वीरेन्द्रनगर छोड्नेको थियो।
वीरेन्द्रनगर उपत्यकामा २०२२ सालमा जब औंलो उन्मुलनको घोषणा भयो, त्यसपछि खेती लगाउन मात्र आउने मानिस स्थायी रूपमा बस्ने गरी आउने क्रम सुरू भयो। त्यसयता विस्तारै उपत्यका बस्तीका रूपमा विकास भयो। अहिले वीरेन्द्रनगर एक शहरका रूपमा विकास भएको छ।
यो उपत्यकालाई २०३९ सालदेखि वीरेन्द्रनगर नगरपालिका भनेर चिन्न थालिएको हो। २०२४ सालतिर अमेरिकाबाट आएका स्वयमसेवकहरूले उपत्यकामा बाटोको रेखांकन गरेका थिए।
राजा वीरेन्द्रले २०२९ सालमा अध्यादेशमार्फत नगर विकासको अवधारणा अघि बढाए र त्यसैबेला वीरेन्द्रनगरको पनि गुरूयोजना बनाइयो। वीरेन्द्रनगरको गुरूयोजना बनाउने व्यक्ति थिए माधवभक्त माथेमा। उनले बनाएको त्यही गुरूयोजनामै रहेर वीरेन्द्रनगरको अहिले पनि विकास भइरहेको छ।
माथेमा सहरी विकास योजनाका विज्ञ हुन्। माथेको सुर्खेत आउने योजना एक्कासी बनेको थियो।

‘भर्खर अमेरिकाबाट अर्बन प्लानिङमा मास्टर्स सकेर काठमाडौं आएको थिएँ, कोठामा नपस्दै प्रमुख इञ्जिनियरले चिठी थमाएर सुर्खेत जानुपर्यो भन्नुभयो, ’३५ बर्षपछि सुर्खेत आएका माथेमाले भने, ‘मैले पनि हुन्छ भनेर सुर्खेत आएँ, त्यतिबेला संयुक्त राष्ट्रसंघ विकास परियोजनाको जहाज १५ हजारमा चाटर्ड गरेर मेरो समूह सुर्खेत आएको थियौं।’
माथेमाका अनुसार काठमाडौं बसेर वीरेन्द्रनगर उपत्यका पत्ता लगाउन निकै कठिन भएको थियो। त्योबेला माथेमा समूह सुर्खेतमा केही समय बसेर वीरेन्द्रनगर उपत्यकाको विकास योजना बनाएको थियो।
माथेमाको समूहले त्यसबेला तीन चरणमा विकास गर्नेगरी योजना बनाएको थियो। जसमा पूर्वको ईत्राम खोलादेखि पश्चिम खोर्के खोलाको बीचको भागलाई सरकारी लगानीमा शहरी विकास गर्ने, त्यसभन्दा उता भैरवस्थानदेखि ढोडेखालीसम्मको भागलाई स्थानीयको लगानीबाट विकास गर्ने र रत्न राजमार्ग भन्दा तल्लो भागलाई सरकारी स्वामित्वमा कृषि क्षेत्रका रूपमा विकास गर्ने योजना थियो।
३५ बर्षपछि सुर्खेत आएका योजनाकार माथेमाले अहिले अघिकांश वीरेन्द्रनगरको विकास आफूले गरेको गुरूयोजना अनुसार नै भएको पाएको बताए। उनी कर्णाली उत्सवमा वक्ताको रूपमा सहभागी हुन बिहिवार सुर्खेत आएका थिए।
‘बनाईएको गुरूयोजनाअनुसार पछिल्लो विकास भएको छ, केही समस्या त हरेक सहरमा हुन्छन्,’ उत्सवको ‘यो सहरः त्यो रहर’ सत्रमा बोल्दै उनले भने, ‘यसको आगामी विकासको बारेमा भने अझैं सोचेर लाग्नुपर्छ।’
माथेमाका अनुसार त्यो समयमा विस्थापित परिवारलाई घडेरी व्यवस्थापन गरिदिने कुरा पनि योजनामा थियो। सिमित घडेरी केही परिवारलाई वितरण गरिएको थियो।
वीरेन्द्रनगर उपत्यकामा गुरूयोजना बनाउने सयमा सवारी साधन, ईट्टा, सिमेन्ट थिएन। त्यसले गर्दा पनि सुरूमा सरकारी लगानीमा सहरको विकास गर्ने योजना बनेको थियो।

अहिले सुर्खेतमा भएको विमानस्थलको विकल्प हेरिएको छ। माथेमाका अनुसार गुरूयोजना बनाउने बेला नै वैकल्पिक गुरूयोजनाको परिकल्पना गरिएको थियो। ‘त्यतिबेला योजना बनाउँदा अहिलेको विमानस्थल बाहेक देउतीबज्यै क्षेत्रमा पूर्व–पश्चिम पर्नेगरि विमानस्थल विकल्पका रूपमा हेरेका थियौं, तर त्यहाँ विमानस्थल बनाउँदा मानिस विस्थापित हुने सम्भावना बढी भएपछि सफल भएन।’
माथेमाको समूहले उपत्यका ठूलो भएकाले नेपालगञ्जलाई यो क्षेत्रको हवाई हब बनाउनेबारेमा पनि सोचेको थियो। पहिलेको योजना सफल नहुँदा अबको समयमा संरचना विकास गरेर वीरेन्द्रनगर उपत्यकामा ठूला विमान चलाउने सम्भावना न्यून भएको उहाँ बताउनुहुन्छ ।
उहाँका अनुसार सुर्खेतलाई अरू देशको सहरलाई हेरेर गुरूयोजना भने बनाइएको होइन। यसलाई यहीँको मौलिक सहरका रूपमा विकास गर्ने योजना बनेको थियो। उहाँले भन्नुभयो, ‘म सुर्खेत आउँदा यहाँ ठूलो भोकमारी थियो, त्योबेला मैंले गरिबीको महसूस गरेको थिएँ। त्यही भएर त्यतिबेला मैले नेपाल बाहिरका शहरको परिकल्पना गरेर योजना बनाइनँ ।’
सुर्खेतमा लगाईएका अहिलेका गुलमोहर फूलका बिरूवाहरू भारतको लखनउबाट १०० रूपैयाँमा किनेर ल्याइएको थियो।
सत्रमा सहभागी वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकाल अहिलेसम्म वीरेन्द्रनगरको विकास योजनाबाहिर नगएको बताउँछिन्। यसलाई अझ व्यवस्थित गर्न नगरपालिका लागेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘हाम्रो पहिलो अभियान सरकारी जग्गाको संरक्षण हुनेछ, बजार क्षेत्रको पार्किङलाई व्यवस्थापन गर्न जोड दिएका छौं । हिजो जुन उद्देश्यले गुरूयोजना बनाइएको थियो, त्यसअनुसार गर्छौ भनेर हामीले प्रतिबद्धता गरेका थियौं, त्यसै गरिरहेका छौं।’
नगरपालिकाले वीरेन्द्रनगरलाई कसरी विकास र व्यवस्थित गर्ने भन्ने विषयमा ६ महिना अध्ययन गरिएको बताउनुभयो । उहाँका अनुसार पुरानो गुरूयोजनालाई कायम राख्नेगरी अहिले नगरपालिकाले भूउपयोग नीति बनाएको छ। जसमा अब नयाँ प्लटिङ गर्दा १० मिटरको बाटो बनाउनुपर्ने, खोला किनारमा कुनैपनि व्यक्तिगत संरचना बनाउन नमिल्ने व्यवस्था गरिएको छ।






प्रतिक्रिया