सुर्खेत – प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले नेपाली समाजलाई सद्भावयुक्त बनाउन राज्य र समाज सँगसँगै अघि बढ्नुपर्ने बताउनु भएको छ। कर्णाली उत्सवको चौथो संस्करणको पहिलो सत्र ‘दलित दलिल’ मा वक्ताको रुपमा सहभागी उहाँले दलित र भेदभावमा परेको अन्य समुदायको आत्मसम्मानका लागि भेदभावयुक्त समाजको अन्त्य गर्नुपर्ने बताउनुभयो ।
‘यहाँ विभेदकै कारण मानिस मारिएको अवस्था छ, यस्ता विभेद अन्त्य गर्न राज्यले समानातको सिद्धान्तलाई अबलम्बन गरी अघि बढ्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘हामीले हाम्रो समाजलाई सदभावयुक्त बनाउनुर्छ र यसका लागि राज्य र समाज सँगसँगै अघि बढ्नुपर्छ।’
सांसद विश्वकर्माले दलित समुदायको समृद्धिका लागि उनीहरुको सीपलाई आधुनिकीकरण गर्नुपर्ने बताउनुभयो । कर्णालीको पछि परेका हरेक समुदायभित्र पनि दलित अझ पछि परेकोले उनीहरुको सामाजिक, आर्थिक विकासका लागि राज्य गहन भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो।
विश्वकर्माले भन्नुभयो केही तथ्याङ्कले कर्णालीमा २९ प्रतिशत दलित भएको दावी गरेका छन्, कर्णालीको कुल जनसंख्यामा एउटा महत्वपूर्ण हिस्सा दलितको छ। यी समुदायको सीपलाई आधुनिकीकरण र बैज्ञानीकरण नगरी उनीहरुको समृद्धि हुन सक्दैन।’
उहाँले कर्णालीका दलित र प्रदेशको समग्र समृद्धिका लागि राज्य गम्भीर भएर लाग्नुपर्नेमा जोड दिनुभयो। अहिलेको निर्वाचण प्रणाली र राजनीतिक विभेदका कारण नीति निर्माण गर्ने ठाउँमा समेत दलितको प्रतिनिधित्व हुन नसकेको उहाँको भनाई थियो।
उहाँले भन्नुभयो, ‘हामीले यो अहिलेको निर्वाचन प्रणालीबाट जनअपेक्षा पूरा गर्न सक्दैनौ, निर्वाचन प्रणाली सच्याएपछि मात्र विविधतायुक्त नेपालीको साँचो प्रतिनिधित्व हुन्छ।’
सत्रमा वक्ताका रुपमा सहभागी कर्णाली प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री उर्मिला विश्वकर्माले दलित समुदायले आफ्नो जिविकाका लागि आत्मनिर्भर हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले दलितले खलो माग्ने प्रचलनको अन्त्य गर्नका लागि दलितसम्बन्धि बनाएका ऐनहरुलाई संशोधन गर्नुपर्छ,’ उहाँले भन्ननुभयो, ‘दलितले खानाका लागि खलो माग्ने होइन, आफैंले केही पाइला चाल्नुपर्दछ।’
उहाँले सरकारमा आफ्नो सहभागितालाई अर्थपूर्ण सहभागिताका रुपमा हेर्नुपर्ने बताउनुभयो । उहाँले कर्णालीमा महिला र दलितको प्रतिनिधित्व ढोकाबाट छिर्न नसकेपछि राज्यमन्त्री पदमार्फत् झ्यालबाट भित्र पसेको स्वःटिप्पणी गर्न्नुभयो। ‘ढोकाबाट छिर्न नसकेको प्रतिनिधित्व झ्यालबाट छिरेको छ।’
कर्णाली प्रदेशमा यसअघि पनि महिलाको सहभागिता मन्त्रिपरिषदमा नभएपछि अदालतमा रिट परेको थियो।
सत्रका अर्का वक्ता नेपाल सरकारका पूर्वसचिव डा. मानबहादुर बिकेले अहिलेको कानुन र अभ्यासले सरकारी सेवामा दलितको उचति प्रतिनिधित्व नहुने बताउनुभयो ।
कर्णालीका सन्र्भमा उहाँले सरकारले दलित समुदायलाई राज्यको मुलधारमा नल्याएसम्म प्रदेश माथि नउठ्ने दावी गर्नुभयो ।उहाँले भन्नुभयो, ‘प्रजातन्त्र आएको दुई दशकपछि नेपाल सरकारले एउटा सचिव पायो, यही कानुन र अभ्यास भयो भने अब अर्को सचिव आउन ११ बर्ष लाग्छ।’






प्रतिक्रिया