काठमाडौं – राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससको समाचार कक्षलाई आकर्षक एवं उदाहरणीय बनाउने बताउनुभएको छ।
राससको ६२औँ वार्षिकोत्सवको अवसरमा आज रासस केन्द्रीय कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले रासस मुलुककै एक आधिकारिक समाचार प्रदायक संस्था भएकाले यसको विकास र विस्तार गरी यसको सेवालाई प्रभावकारी र विश्वसनीय बनाउने बताउनुभयो।
उहाँले भन्नुभयो, सरकारबाट प्राप्त हुने अनुदान र आफ्नो सीमित आम्दानीबाट खर्च व्यवस्थापन गनुपर्ने अत्यन्त कठिन चुनौती र दायित्व रहेकाले यसलाई सबैले बोध गर्नुपर्नेमा जोड दिनुभयो।
अध्यक्ष झाले भन्नुभयो, ‘गोर्खा भूकम्पले क्षति पु¥याएको राससको भवन भत्काएर बनाइएका नयाँ दुई भवनसँगै राससमा कार्यरत कर्मचारी एवं पत्रकारको हकअधिकारलाई आफ्नो स्रोत र साधनले भ्याएसम्म अझै सुदृढ र विस्तार गर्दै, पुनर्ताजगी तालिम, सामयिक वृत्ति विकास, पदोन्नति र क्षमता विकास गर्दै राससको भौतिक संरक्षणको सुरक्षा एवं पूर्वाधार विकास गरिनेछ ।’
अध्यक्ष झाले आफ्नो सेवाको विविधिकरणको प्रयासस्वरुप राससले गत साउन १ गतेदेखि श्रव्यदृश्य सेवा प्रारम्भ गरेको जानकारी पनि दिनुभयो। उहाँले राससको श्रव्यदृश्य परीक्षणकालमा रहेको र तत्कालका लागि निःशुल्क उपलब्ध गराउँदै आएको भन्दै यसको ‘फिडब्याक’ उत्साहप्रद आएको बताउनुभयो।
उहाँले देश विदेशका महत्वपूर्ण घटनाक्रम, विषय र समसामयिक सन्दर्भका सत्यतथ्य सूचना, सन्देश र जानकारी छिटो छरितोरुपमा विश्वसनीय ढङ्गबाट सम्प्रेषण गर्ने कार्यमा राससले आफ्नो स्थापनाकालदेखि अहोरात्र काम गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो ‘उपलब्ध सीमित स्रोत, साधन र जनशक्तिको अधिकतम उपयोग गरेर छापा तथा प्रसारणलगायतका आमसञ्चारमाध्यम र तीनका पाठक, दर्शक र श्रोताको चाहनाअनुरुपका समाचार प्रस्तुतिमा हाम्रो ध्यान सदैव केन्द्रित छ’, उहाँले भन्नुभयो ।






प्रतिक्रिया