अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख घिमिरेसँग जर्मनीका सांसदहरूको शिष्टाचार भेटवार्ता

सभामुख घिमिरेसँग जर्मनीका सांसदहरूको शिष्टाचार भेटवार्ता


काठमाडौँ-सभामुख देवराज घिमिरेसँग जर्मनीको संसद्को साउथ एसिया समूहका सदस्यहरू र नेपालका लागि जर्मनीका राजदूतले शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित सभामुख कार्यालयमा भएको भेटमा दुई पक्षीय मैत्रीपूर्ण सम्बन्ध, नेपालको दिगो आर्थिक विकासलगायतका विषयमा छलफल भएको हो ।

सभामुख घिमिरेले नेपाल र जर्मनीबीचको लामो कूटनीतिक सम्बन्ध र सन् २०१७ मा जर्मनीका उपसभामुखको नेपाल भ्रमण स्मरण गराउनुभएको छ । नेपालको सङ्क्रमणकालीन न्यायका केही विषय सम्बोधन गर्न बाँकी रहेको उल्लेख गर्दै संसद्ले यथाशीघ्र टुङ्‍गो लगाउने उहाँले उल्लेख गर्नुभयो ।

नवीकरणीय र स्वच्छ ऊर्जामा पहुँच अभिवृद्धि गर्ने, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रमा जर्मनीले नेपाललाई गरेको सहायताको प्रशंसा गर्दै उच्च शिक्षा अध्ययनका लागि जर्मनी गएका नेपालीलाई ज्ञान आर्जनपश्चात स्वदेशमै लगानी तथा बसोबासका लागि आकर्षित गर्नसके नेपालमा उपलब्ध मानवपूँजी थप मजबुत हुने र वैदेशिक लगानी आकर्षित गर्नु सकिने उल्लेख गर्नुभयो । नेपालको आर्थिक संवृद्धि निर्माणमा लगानी सहायताको नयाँ आयाम मानव पुँजी निर्माण हुनसक्‍ने उल्लेख गर्नुभयो ।

जर्मनीका संसद्को साउथ एसिया समूहका नेपाल भ्रमणमा रहनुभएका टोली नेता रिनाटे कुनास्टाले सभामुख घिमिरेलाई पदभार ग्रहण गर्नुभएकोमा शुभकामना दिँदै कार्यकाल सफलताको कामना गर्नुभयो । नेपालमै युवालाई रोजगार तथा आय आर्जनमा संलग्न गराउन सूचना प्रविधिको क्षेत्रमा व्यापक सम्भावना रहेको उहाँले उल्लेख गर्नुभयो । त्यस्तै भ्रमणमा रहनुभएका टोली सदस्यहरूले नेपालको कलिलो लोकतन्त्रलाई मजबुत बनाउन आवश्यक सहयोग जर्मनीले गर्नसक्ने र सो का लागि नेपालले पहल गर्नुपर्ने बताउनुभयो।नेपालमा प्रगतिशील कानुनहरू रहेकोमा भ्रमण टोलीका सदस्यहरुले नेपालको कानुन निर्माण प्रक्रियाको प्रशंसा गर्नुभयो ।

भूकम्पपछिको राहत, उद्धार र पुननिर्माणमा जर्मनीबाट भएको सहयोग स्मरणीय रहेको बताउँदै सभामुख घिमिरेले विद्यमान कानुन व्यवहारमा पूर्णतः लागू गर्न केही समय लाग्ने व्यक्त गर्नु भयो ।