अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केपी ओली: विकास र समृद्धिका नायक

केपी ओली: विकास र समृद्धिका नायक


१. भूमिका
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आजबाट ७२औं वर्षमा प्रवेश गर्नुभएको छ। उमेरले वृद्धअवस्थातिर ढल्किदै गए पनि उहाँको जोश भने अझै युवाको जस्तै छ। नेपालको नवनिर्माणमा उहाँको जोश र दुरदृष्टीले विकासका साना र हिन सोचाइबाट हामी दुरगामी योजनाका साथ अघि बढ्न थालेका छौं । यस सन्दर्भमा विकासका बारेमा अवधारणाहरु के हुन् ? राष्ट्रिय आकांक्षाको रुपमा रहेको समृद्ध नेपाल,सुखी नेपालीको उच्चतम् विन्दु कहिले र कुन हो ? त्यो विन्दुमा पुगेपछि नेपाल र नेपालीको स्थिती के कस्तो हुन्छ भन्ने कुराको यो चर्चा यो आलेखमा गरेको छु।

ओलीका नेपाल राष्ट निर्माणका सम्बन्धमा क. केपी ओलीको नेतृत्वका थुप्रै आयामहरु छन् । केपी ओलीको नेतृत्वमा देशले प्राप्त गरेका उपलव्धिहरुमा सामन्ति निरंकुश राजतन्त्रको समाप्ती र गणतन्त्र प्राप्ती, कम्युनिष्टलाई निर्णायक शक्तिमा विकास, संविधान निर्माण र कार्यान्वयन, हिंसात्मक आन्दोलनको समाप्ती आदि छन् । यसैगरी शान्तिपूर्ण प्रतिष्पर्धा स्थापित, विखण्डनकारी जातीय राज्यको मागको समाप्ती, राष्टिय एकतामा वृद्धि र राष्ट्रिय पहिचानमा वृद्धि, संविधान र सो अनुसारका कानून निर्माणमा नेतृत्व, सबै देशका सार्वभौमसत्ता समान छन् भन्ने धारणा केपी ओली कै हो । केपी ओलीका अन्तर्राष्टिय प्रतिष्ठामा वृद्धि, चुच्चे नक्साको प्रकाशन, गुमेको भूभागको दावी, चीनसँग पारवहन सम्झौता पनि केपी ओलीकै योगदान हुन् । देशलाई विकासशील राष्टमा रुपान्तरण गर्ने निर्णय, दीगो विकास लक्ष्यको प्राप्ती, वित्तीय संघीयताको कार्यान्वयन, विकासमा तिब्रता, कोभिड बिरुद्धको लडाइँमा बिजय र राज्यको नेतृत्वदायी भूमिकामा बृद्धि आदिका सवाहरु आँउदा ओलीलाई नै सम्झनु पर्ने हुन्छ । ओलीको नेतृत्वका थुप्रै आयाम मध्ये समृद्ध नेपाल, सुखी नेपालीको दूरदृष्टि निर्माण र त्यसको कार्यान्वयन एक महत्वपूर्ण आयाम हो ।

२. केपी ओलीको सोच: समृद्ध नेपाल, सुखी नेपाली

निश्चित लक्ष्य निर्धारण नगरिकन कुनै पनि व्यक्ति, संस्था वा देश गन्तव्यमा पुग्न सक्तैन। लामो अवधिपछिको निश्चित गन्तव्य तोक्ने कुरा नै दूरदृष्टि वा भिजन हो । विकासलाई छिटो गन्तव्यमा पुर्याउन भिजन बनाइन्छ। भिजनले भविष्यमा जाने बाटोको लागि दिशा निर्देश र रोडम्याप दिन्छ, यसले भविष्यमा बनाइने देशको प्रारुप र विशिष्टता देखाउँछ र परिचय सिर्जना गर्दछ।

नेपालको इतिहासमा औपचारिक वा अनौपचारिक हिसाबले तीन दीर्घकालीन सोचहरु बनेका देखिन्छन्।
पहिलो, नेपालको एकीकरणको विषय थियो भने दोस्रो नेपालको लोकतान्त्रीकरणको थियोे। तेस्रो दीर्घकालीन सोच समृद्ध नेपाल, सुखी नेपालीको अवधारणा नै हो जसले २५ वर्षपछि नेपाललाई समृद्ध बनाउने र समाजवादको आधार निर्माण गर्ने भनेको छ । केपी ओलीको अवधारणामा आधारित समृद्ध नेपाल, सुखी नेपालीको सोच नेपाली खुशी र सुखका लागि बनाइएको दीर्घकालीन सोच वा भिजन हो।

यो दीर्घकालीन सोच नेपालको संविधानको मार्ग निर्देशन र नेकपा एमालेको रणनीतिक लक्ष्यअन्तर्गत बनेको हो । संविधान सभाबाट बनेको नेपालको संविधानको दफा ५ ले आर्थिक समृद्धि र समुन्नतिलाई नेपालको हित मानेको छ । निर्देशक सिद्धान्तको दफा ५०मा समाजवाद उन्मुख लोककल्याणकारी राज्य व्यवस्था, मिश्रित अर्थतन्त्र, उपलव्ध साधन र स्रोतको परिचालनबाट तीब्र आर्थिक बृद्धि गर्दै दीगो बिकास गर्ने, राष्टिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र र उन्नतशील बनाउने र समृद्ध अर्थतन्त्र निर्माण गर्ने भनिएको छ । दफा ५२ ले नेपाललाई समृद्ध र समुन्नत बनाउने कुरालाई राष्ट्रिय दायित्व मानेको छ । समृद्धिको लागि दीर्घकालीन सोचको विकासमा केपी ओलीको सोच, काम गर्ने हुटहुटी तथा दिशा निर्देशसहितको नेतृत्वले महत्वपूर्ण भूमिका खेलेको छ।

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा निर्धारणको पृष्ठभूमि हेर्दा नेकपा एमालेको केही वर्ष अघिको इतिहास हेर्नुपर्ने हुन्छ। २०७१ सालमा सम्पन्न नेकपा एमालेको नवौँ राष्ट्रिय महाधिवेशनले एउटा नारा दिएको थियो जसमा भनिएको थियो – नेकपा एमालेको परिकल्पनाः सुखी नेपाली, समृद्ध नेपालको स्थापना। पार्टीको यो सुखी नेपाली, समृद्ध नेपालको नारालाई मूर्तरुप दिने काम भने क. केपी ओली नेतृत्वको सरकारले गर्‍यो । त्यसलाई परिमार्जन र ब्राण्डिङको काममा वहाँले नेतृत्व गर्नुभएको छ । उहाँले नै पहिलेको सुखी नेपाली, समृद्ध नेपाल भन्ने वाक्यांशलाई उल्टाएर समृद्ध नेपाल, सुखी नेपाली बनाउनु भएको हो । ओलीले यसलाई राष्ट्रिय आकांक्षाको रुपमा परिभाषित गर्दैआफू प्रधानमन्त्री भएका बेलामा २५ वर्षे कार्यायोजना पनि बनाउनु भएको छ। समृद्ध नभइकन सुख नआउने भएकोले समृद्ध नेपाल, सुखी नेपाली भन्ने वाक्यांश नै सही हो क.ओलीको धारणा हो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको परिभाषामा भन्नुभएको छ, ‘समृद्ध समाज त्यो हो जुन सभ्य छ, जसले सकारात्मक भावना फैलाउँछ, जसले विविधतामा सुसंगत सहअस्तित्व कायम गर्छ । त्यस्तो समाज जसले राष्ट्रिय उपलब्धिहरूमा गर्व गर्छ र आफूलाई निजी स्वार्थको सङ्कीर्ण घेराबाट पर राख्छ’। सुखका सन्दर्भमा वहाँको भनाइ छ, ‘मान्छेको अन्तिम इच्छा, मान्छेका सम्पूर्ण चेष्टाहरू, प्रयासहरू, गतिविधिहरू, क्रियाकलापहरू यी सबैको निष्कर्ष के हो भने दे वान्ट ह्यापिनेस अर्थात् तिनीहरू सुख चाहन्छन् ।’ पन्ध्रौं योजनाअनुसार ‘समृद्ध नेपाल, सुखी नेपाली’ भनेको समुन्नत, स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्र सहितको समान अवसर प्राप्त, स्वस्थ, शिक्षित, मर्यादित र उच्च जीवनस्तर भएका सुखी नागरिक बसोबास गर्ने मुलुक हो ।

समृद्धिका चार र सुखका छ वटा लक्ष्य

पन्ध्रौँ आवधिक योजनाले समृद्ध नेपाल, सुखी नेपालीको यो आकांक्षाको राष्ट्रिय लक्ष्यहरू तोकेको छ जसको विस्तृत रूप यस प्रकार छन्। पहिलो, उच्च र समतामूलक राष्ट्रिय आय भएको अवस्था निर्माण, दोस्रो, मानव पुँजी निर्माण तथा सम्भावनाको पूर्ण उपयोग, तेस्रो, सर्वसुलभ र आधुनिक पूर्वाधार एवं आबद्धता, चौथो, उत्पादन तथा उत्पादकत्व वृद्धि, पाँचौँ, परिस्कृत तथा मर्यादित जीवन, छैठौँ सभ्य र न्यायपूर्ण समाज निर्माण, सातौँ, स्वस्थ र सन्तुलित पर्यावरण, आठौँ, सुशासन, नवौँ, सबल लोकतन्त्र स्थापना र दशौँ, राष्ट्रिय एकता, सुरक्षा र सम्मान वृद्धि । यी १० वटा राष्ट्रिय लक्ष्यहरूमध्ये पहिलो चार वटालाई समृद्धिसँग गाँसिएको छ । पछिल्लो छ वटालाई सुखसँग गाँसिएको छ । हुन त ती लक्ष्यहरू एकअर्काका परिपूरक हुन्, एउटाले अर्कोलाई सहयोग नै गरिरहेका हुन्छन् । केपी ओलीले प्रतिपादन गरेको समृद्ध, नेपाल, सुखी नेपालीको अवस्था सम्पूर्ण नेपालीको सपना हो जसलाई हामीले प्राप्त गर्नैपर्छ । तर देशको राजनीतिक खिचातानी र विदेशी हस्तक्षेपले यसमा ग्रहण लगाउला कि भन्ने डर भने थपिएको छ । लक्ष्य प्राप्त गर्ने समय विन्दुमा केही ढिलाई भई नै सकेको छ।

समृद्ध नेपाल, सुखी नेपालीको अवस्था प्राप्त हुँदा नेपाल अहिलेको अल्पविकसित अवस्थाबाट विकसित देशको स्तरमा पुगेको, प्रतिव्यक्ति आय १२१०० डलर पुगेको, निरक्षरता उन्मुलन भएको, १०० प्रतिशत विद्यार्थी विद्यालय जाने अवस्था आउने अनुमान छ । त्यतिबेलासम्ममा देश प्रमुख खाद्यान्नमा आत्मनिर्भर हुने, निरपेक्ष र वहुआयामिक दुबै किसिमका गरिवीलाई पूरै हटाउने, ९९ प्रतिशत जनतालाई प्रतिव्यक्ति २१०० क्यालोरी गुणस्तरीय खाना उपलव्ध हुने स्थिति सिर्जना गर्ने लक्ष्य राखिएको छ। निर्वाहमूखी कृषिलाई समाप्त गर्ने, खाद्यान्न उत्पादनलाई अहिलेको भन्दा अढाइगुणा बढाउने, ३५००० हजार मेगावाट बिजुली उत्पादन गर्ने, औसत आयू ७७ वर्ष बनाउने आदि लक्ष्य राखिएका छन् । समृद्ध नेपाल, सुखी नेपालीको अवस्था निर्माण हुँदा नेपाल पूर्ण लोकतन्त्रमा आधारित, सरकारको हरेक तहमा र हरेक व्यक्तिमा जवाफदेहीता भएको अवस्था, सामन्तवादका सम्पूर्ण अवशेषहरु समाप्त हुने, नेपाली सँस्कृतिले नेपाललाई एक सूत्रमा बाँधेको हुने र नेपाल देश सार्वभौमसत्ता सम्पन्न, स्वाधिन, स्वतन्त्र र सुरक्षित, अन्तर्राष्टिय क्षेत्रमा नेपालको प्रतिष्ठायुक्त हुने अवस्थाको सिर्जना हुनेछ भन्ने आशा गरिएको छ ।

३. समृद्ध नेपाल, सुखी नेपाली र छिमेकका उदाहरण

हामीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय खाका तयार गरिरहँदा कतै अनावश्यक महत्वाकांक्षा पो निर्माण गर्यौं कि भन्ने जस्तो पनि लाग्नसक्छ। तर यस्ता दीर्घकालीन सोचहरु धेरै देशले बनाएका हुन्छन् । उदाहरणको लागि हामी भारत र चीनलाई नै लिनसक्छौं । किनभने नेपालले जस्तै दीर्घकालीन सोच भारत र चीनले पनि बनाएका छन् । त्यसमा पनि भारतले त भर्खरमात्र (एक हिसाबले भन्ने हो भने हामीबाट सिकेर) केही महिना अघि त्यसको उद्घोष गरेको छ । भारतले आपूm उपनिवेशबाट मुक्त भएको वर्ष सन् १९४७ को १०० वर्षमा भारतलाई विकसित देश बनाउने भनेर प्रधानमन्त्री नरेन्द्र मोदीले गत अगष्ट २२ मा (जुन भारतको स्वतन्त्रताको दिन हो) घोषणा गरेका छन् । जसका ५ वटा लक्ष्यहरु तोकिएका छन् । तिनिहरु यस प्रकारका छन्: विकसित भारत, गुलामी मानसिकताबाट मुक्ति, इतिहासको गर्व, एकता र एकजुटता तथा नागरिकका कर्तव्य पूरा गर्ने कुराहरु राखिएका छन् । भारत आफनो उद्देश्य प्राप्तीको लागि मूल मन्त्र बनाएर काम गर्दैछ र यो प्राप्त गर्ने समयलाई उसले अमृतकाल भनेको छ।

चीनले कम्युनिष्ट पार्टी स्थापना भएको वर्ष १९२१ र जनगणतन्त्र चीन स्थापना भएको वर्ष १९४९ लाई आधार मानेर दुईवटा शताव्दी लक्ष्य तोक्यो । पहिलो शताव्दी लक्ष्य चीनलाई मध्यमस्तरको विकासमा लैजाने थियो र त्यो पूरा भइसकेको छ । दोस्रो शताव्दी लक्ष्य चीनलाई बलियो, लोकतान्त्रिक, सभ्य, सद्भावयुक्त र आधुनिक समाजवादी देश बनाउने भन्ने छ जसको लागि काम भइरहेको छ।

ठूला छिमेकी देशका दीर्घकालीन लक्ष्यहरुलाई हेर्दा प्रजातन्त्र प्राप्त गरेको लगभग एकसय वर्षमा नेपाललाई विकसित हैसियतमा लैजाने हामीले राखेको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा अत्यन्त सही रहेछ भन्ने नै ठहर्छ ।

४. समृद्ध नेपाल, सुखी नेपाली निर्माणमा प्रदेश र स्थानीय सरकार तथा निजी क्षेत्र

देश बिकासको लागि सम्पूर्ण जनता, समाज र निकायहरु परिचालन हुनु आवश्यक छ । सम्पूर्ण देश परिचालन भएमा मात्र विकासले गति लिनसक्छ । समृद्ध नेपाल, सुखी नेपालीको राष्टिय आकांक्षा प्राप्तीको लागि पनि सम्पूर्ण देश लाग्नुपर्ने हुन्छ । यही प्रयास स्वरुप केपी ओलीले देशको नेतृत्व गरेको समयमा संघीय सरकारले बनाएको समृद्ध नेपाल, सुखी नेपालीको बाटोलाई अपनाउँदै प्रदेशहरुले पनि आआप्mना दीर्घकालीन सोचहरु विकास गरेका थिए । प्रदेशहरुले बनाएका दीर्घकालीन सोचमा प्रदेश १ को स्वच्छ, सुखी र समुन्नत प्रदेश, मधेश प्रदेशको उच्च मानव विकास र पहिचानः समृद्ध मधेश समाज, वाग्मती प्रदेशको सुसंस्कृत र सुखी जनता, समाजवाद उन्मुख समृद्ध प्रदेश, गण्डकी प्रदेशको समृद्ध प्रदेश, सुखी नागरिक, लुम्बिनी प्रदेशको समृद्ध प्रदेश र खुशी जनता र कर्णाली प्रदेशको समृद्ध कर्णाली, सुखारी कर्णालीवासी भन्ने रहेका छन् । सुदुरपश्चिम प्रदेशले भने आप्mनो योजना बनाउने काम अझै सम्पन्न गर्न सकेको छैन । प्रदेशका यी सबै दूरदृष्टि र आवधिक योजनाहरु केपी ओलीकै नेतृत्वमा बनेका हुन् । संघ र प्रदेशका दीर्घकालीन र आवधिक योजनाका मातहतमा रहेर स्थानीय तहहरुले पनि आआफना आवधिक योजना र बजेट निर्माण गर्दै अगाडि बढाएका थिए।

सरकारी क्षेत्रमात्र होइन, निजी क्षेत्रसमेत मेक इन नेपाल अभियानमा लागेको छ र सहकारी र सामुदायिक क्षेत्र दिगो विकास लक्ष्य प्राप्तीको अभियानमा लागेका छन्।

यसरी सबै सरकार र क्षेत्रहरुले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई आत्मसात् गर्न लागेको अवस्था छ।

५. प्राप्त अवसरको सदुपयोग

जनताको अपार माया र जनादेशमार्फत निर्माण भएको र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूर्तिमा लागिरहेको केपी ओली नेतृत्वको सरकार सर्वोच्च अदालतको परमादेशको कारणले ३ वर्ष ५ महिनापछि वहिर्गमित भयो । सरकार वहिर्गमनसँगै समृद्ध नेपाल, सुखी नेपाली निर्माणको अभियानमा पनि अर्धविराम लागेको अवस्था छ । लामो प्रतिक्षा र संघर्षपछि कम्युनिष्ट पार्टीको नेतृत्वमा बनेको सरकारबाट नेपाली जनताहरुले धेरै अपेक्षा राखेका थिए । सरकारले पनि विभिन्न अप्ठेराहरुको बाबजुद सफलतासाथ आप्mना योजनाहरुलाई अगाडि बढाएको थियो । खासगरी पार्टीभित्र र बाहिरकाहरुको साँठगाँठबाट सर्वोच्च अदालतलाई समेत प्रयोग गरेर केपी ओलीलाई सरकारबाट बाहिर बनाइयो । अत्यन्त प्रतिकुलताका बाबजुद पनि उहाँको नेतृत्वमा बनेको सरकारले देशलाई तीब्र गतिमा अगाडि बढाइरहेको थियो । उहाँले काम गरेको समयमा प्रतिकुलता कस्तो थियो भने ढुकुटी करिबकरिब रित्तो थियो र आर्थिक अराजकता चरम थिए । संघीय संरचनामा गएका थियौं तर प्रदेश सरकार बनेकै थिएनन् । संसदमा पठाइएका विधेयकहरु ऐन निर्माणको लागि संसदमा पेश हुँदैनथे । संवैधानिक निकायका पदाधिकारीहरु नियुक्तिमा सधैं अवरोधहरु खडा गरिन्थे, कोभिडले पनि त्यही बेलामा दुःख दियो, उहाँको स्वास्थ्यले पनि राम्रो साथ दिएन । तर पनि संविधान र संघीयताको कार्यान्वयन, योजना र नीति निर्माण, आर्थिक तथा वित्तीय क्षेत्र सुधार, शिक्षा र स्वास्थ्य, सुशासन र भ्रष्टाचार नियन्त्रण, भौतिक पूर्वाधार, सामाजिक सुरक्षा आदिका क्षेत्रमा महत्वपूर्ण कामहरु भए । त्यतिबेला भएको सबैभन्दा महत्वपूर्ण काम भूकम्पपछिको पुनःनिर्माण थियो ।

त्यतिबेला थुप्रै नवप्रवर्तनकारी कामहरु पनि सुरु भएका थिए जसमा सगरमाथा संवाद, डिजिटल नेपाल, प्रधानमन्त्री रोजगार कार्यक्रम, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, राष्ट्र्पति महिला उत्थान कार्यक्रम, विजुली वस र काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण गठन, रासायनिक मल कारखाना खोल्ने योजना, नीति अनुसन्धान प्रतिष्ठान स्थापना, बालबालिका मुक्त सडक, सुरुंग मार्गको सुरुवात, पानीजहाज तथा जल परिवहनको सुरुवात, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय र प्रतिरक्षा विश्वविद्यालय स्थापना, ७ वटा उद्यौगिक क्षेत्रहरुको निर्माणको काम, गढी किल्ला संरक्षण कार्यक्रम, ३९६ वटा स्वास्थ्य केन्द्र निर्माण कार्यक्रम, सबै पालिकाहरु पक्की सडक पुर्याउने कार्यक्रम, सबै पालिकाहरुमा बैंकको शाखा पुर्याउने कार्यक्रम, सबै पालिका भवनहरु निर्माण गर्ने कार्यक्रम आदि मुख्य थिए ।

६. समृद्ध नेपाल, सुखी नेपालीको सन्दर्भमा नेपाली कांग्रेसको दुर्नियत र माओवादी पार्टी
सम्पूर्ण नेपालीले अपनत्व ग्रहण गरेको र अन्तर्राष्टिय समुदायले पनि स्वीकारेको समृद्ध नेपाल, सुखी नेपालीको अवधारणालाई नेपाली कांग्रेसले भने पूरै वेवास्ता गरेको छ । त्यस पार्टीले आवधिक योजनामार्फत देशलाई अगाडि बढाउन पहललाई पनि छोडेको छ र विकास निरन्तर प्रक्रिया हो यसको लागि पहल गर्नु आवश्यक छैन भन्ने मान्यता राखेको छ । देशलाई समृद्ध बनाउने भन्ने संविधानमा समेत ९ ठाउँमा परेको शव्दलाई आप्mनो दस्ताबेजबाट पूरै हटाएको छ । त्यसको ठाउँमा समुन्नत नेपाल भन्ने वाक्यांश प्रयोगमा ल्याएको छ जसको कुनै ठोस परिभाषा पनि छैन । नेपाली जनताले स्वामित्वमा लिएका पनि छैनन्।

नेपाली कांग्रेसको २०७० सालको संविधान सभा निर्वाचनको घोषणपत्रले नेपाली कांग्रेस गरिबी हैन सम्वृद्धि बाड्न चाहन्छ भनेको थियो, समृद्ध नेपाल, सम्पन्न नेपाली भन्ने नारा नै राखेको थियो । २०७४ को निर्वाचनमा पनि आर्थिक सम्बृद्धिको संकल्प अघिसारेको थियो । तर अहिले नेपाली कांग्रसलाई समृद्धि र सुख शव्ददेखि नै एलर्जी भएको देखिन्छ किनभने यो नारा क. केपी ओली र नेकपा नेतृत्वको सरकारले अगाडि ल्याएको थियो । उसले समृद्ध नेपाल, सुखी नेपाली शव्दको स्वामित्व नेकपा एमालेलाई मात्र दिएको छ । अप्रत्यक्षरुपमा नेपाललाई सम्पन्न बनाउने जिम्मा पनि एमालेलाई दिएको देखिन्छ । सबैले नेपाली कांग्रेसको मूल नीतिमा राष्टिय सहमति हुन नदिने र सधैं अस्थिरता बनाइरहने षडयन्त्रलाई भण्डाफोर गर्नुपर्ने आवश्यकता छ।

माओवादीको घोषणापत्रमा भने सुख भन्ने शव्द नभए पनि समृद्धि भन्ने शव्द ५८ ठाउँमा राखिएको छ । समृद्धिका लागि क्रमभङ्गता’को समेत प्रतिवद्धता छ । वर्तमान गठवन्धन सरकारले पनि यो राष्ट्रिय आकांक्षालाई आत्मसात् गरेर न्यूनतम साझा कार्यक्रमको प्रस्तावनामा राखेको छ ।

७. भावी बाटो
२०७६ सालदेखि सुरू गरिएको यो दीर्घकालीन सोच प्राप्तिको बाटोमा कोभिडले असर, राजनीतिक अस्थिरता आदिको कारणले असरमा परेको छ र त्यसमा थोरै परिमार्जन आवश्यक परेको छ । परिमार्जन गर्दा समृद्ध नेपाल, सुखी नेपालीको अवस्था प्राप्त गर्ने समय अवधिलाई वि.सं. २१०० मा केही वर्ष थप गर्न सकिन्छ । वर्ष तोक्दा नेपालमा पहिलो प्रजातन्त्र प्राप्तिको वर्ष वि.सं. २००७ को १०० वर्षपछि अर्थात् वि.सं. २१०७ लाई राख्न सकिन्छ । समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्तीको लागि उत्पादन र उत्पादकत्व बृद्धि, प्रदेश र स्थानीय तहसँग सहकार्य र समन्वय, मानव संसाधनको विकास, आवद्धतामा वृद्धि, सुशासनमा वृद्धि, संघीयता कार्यान्वयनसम्बन्धी कार्ययोजनाको कार्यान्वयन र मूल्यांकन, लगानी वातावरण सुधार्ने, विकासोन्मुख देशमा रुपान्तरणको लागि रणनीति निर्माण र कार्यान्वयन, सुरु भएका राष्टिय गौरवलगायतका आयोजनाहरुको सम्पन्नता आदि काम आवश्यक छ।

गत निर्वाचनमा केही प्राविधिक कारणले नेकपा एमालेले वहुमत ल्याउन नसके पनि क. केपी ओली नेतृत्वको नेकपा एमाले लोकपृयताको हिसाबले देशको सबैभन्दा ठूलो पार्टी भएको छ। गठवन्धनको घेरावन्दी र केही प्राविधिक कारणहरुले नेकपा एमालेलाई संसदको दोस्रो पार्टीको रुपमा बस्नुपर्ने अवस्था सिर्जना गर्यो र देशको विकासको नेतृत्व गर्न पाइएन । तर यो अस्थायी कुरा हो । त्यसैले अबको निर्वाचनमा बहुमत ल्याउने गरी हामीले काम गर्नुपर्ने आवश्यकता छ र क. केपी ओलीको नेतृत्वमा नै समृद्ध नेपाल, सुखी नेपालीको अवस्था सिर्जना गर्न अगाडि बढ्नुपर्ने छ।

अन्त्यमा म पार्टी अध्यक्ष कमरेड केपी ओलीलाई ७२औं जन्मदिनको शुभकामना दिन चाहन्छु र वहाँको नेतृत्वमा पार्टी र देशले रुपान्तरण पाउनेछ भन्ने आशा गर्दछु।

(नेकपा एमाले केन्द्रीय लेखा आयोगका अध्यक्ष डा.कडेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुनहुन्छ।)

Skip This