केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला म उहाँको विकास विज्ञको रुपमा कार्यरत थिएँ । यो जिम्मेवारीमा रहेका कारणले मैले विकासका ठूला परियोजनाहरुको अवस्था के छ ? के कसरी सञ्चालन भइरहेका छन् ? कुनै परियोजनाका कुनै अवरोधले रोकिएका छन् कि वा उद्घाटनको समयमा छन् कि भनेर जानकारी लिनु र प्रधानमन्त्रीलाई नियमित जानकारी गराउनु मेरो जिम्मेवारी हुन्थ्यो।
केपी शर्मा ओली नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीमात्र नभएर नेपालका समकालिन राजनीतिज्ञहरूमा कसैको दबाब र प्रभावमा नपरी उच्च निर्णय लिन सक्ने नेताका रूपमा आफ्नो छवि कायम गरेको नेतामा पर्नुहुन्छ।
राष्ट्र, राष्ट्रियता, सार्वभौम, भूरानीतिक, अर्थतन्त्र, विकास र समृद्धिका हरेक विषयमा आफ्नो प्रष्ट विचार र दृष्ट्रिकोण राख्ने नेताको रुपमा पनि केपी ओलीलाई लिइन्छ। प्रधानमन्त्री भएको बेला ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय आकांक्षा अगाडि बढाउने केपी शर्मा ओली राष्ट्रिय गौरवका तथा ठूला आयोजनामा विशेष महत्व दिने गर्नुहुन्थ्यो ।
त्यो इभिनिङ वाक
दिनभरी कार्यालयमा भेटघाट, काम, विभिन्न मिटिङ् आदिमा व्यस्त भएपनि बेलुका समय मिलेसम्म बालुवाटारमा ‘इभिनिङ वाक’मा समय व्यवस्थापन गर्ने गरिन्थ्यो । यस्तो बेला कहिलेकाँही प्रधानमन्त्रीसँग पनि इभिनिङ वाकको मौका पाइन्थ्यो । यो समय भनेको अनौपचारिक संवाद हुने समय थियो । त्यसैले प्रधानमन्त्रीसँग कुनै दिन, राजनीतिक, कुनैदिन सामाजिक कुनैदिन आर्थिक, कुनै दिन वैदेशिक त, कुनैदिन भौतिक पूर्वाधारका विभिन्न आयाममा कुराकानी हुने गर्दथ्यो।
२०७८ वैशाखको एक साँझ । म प्रधानमन्त्रीसँगै इभिनिङ वाकमा थिएँ । त्यही बेलामा माथिल्लो तामाकोसीको कार्य प्रगति ९९.७ प्रतिशत भएको र अब उद्ध्घाटनको तयारी गर्नुपर्ने कुरा अवगत गराएँ । उहाँले मेरो सुनेपछि त्यो परियोजना ९९.९ प्रतिशत काम सकिएपनि पनि एक वर्ष होल्ड हुनसक्छ । त्यसैले तुरुन्तै उद्ध्घाटनको प्रवन्ध गर्नु भन्ने निर्देशन दिनुभयो । त्यतिखेर राजनीतिक रूपले सरकार ढाल्ने खेल चलिरहेको थियो ।
मैले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य तथा माथिल्लो तामाकोशीका अध्यक्षसँग छलफल वश्तुस्थिती बुझें । स्थलगत रुपमा अध्ययन गरेर उद्ध्घाटनको समय नै तोकेर आउन मलाई प्रधानमन्त्रीको निर्देशन थियो । दिनमा ११ करोड राज्यलाई नोक्सानी भएको आयोजनामा असारको पहिलो हप्ताको स्थलगत अध्ययन, अवलोकन गरेर असार २१ गते उद्घाटन गर्ने निर्णय गरेर दोलखाबाट म फर्कें ।
असार २० गते मेरै कार्यकक्षमा मिटिङ्ग बसेर भोलिसम्म लाइन चार्ज गर्न कठिन हुन सक्ने भन्दै उद्ध्घाटनको मिति सार्न प्रस्ताव गरेका थिए । त्यसकुरालाई मैले ठाडै इन्कार गरें ।
असार २१ गते दिउँसो ४ बजे उद्घाटन गर्नुभन्दा २७ मिनेट अगाडि मात्र ३ बजेर ३३ मिनेटमा माथिल्लो तामाकोशीको विद्युतका चार्ज भएर काठमाडौँ आइपुग्यो । प्रधानमन्त्री ओलीको त्यो निर्देशन नभएको भए यो आयोजना सम्पन्न हुन र उद्ध्घाटन हुन कति समय लाग्थ्यो भन्न सकिन्न । तर राज्यको कार्यकारीले दृढ लक्ष्य राख्दा कसरी क्षणभरमै असम्भव भनिएको आयोजना सफल भयो भन्ने कुराको एउटा उदाहरण हो अपर तामाकोशी परियोजना ।
प्रधानमन्त्रीको निर्देशनपछि मेलम्चीको पानी यसरी काठमाडौं आइपुग्यो
आफ्नो कार्यकालमा काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने अर्को दृढ संकल्पसहित अगाडि बढेका ओलीलाई जब खानेपानी मन्त्रालयको टिमले परियोजना बारेमा विस्तृतमा जानकारी दियो उहाँ अलि गम्भीर हुनुभयो । लामो समयदेखिको क्रोनिक समस्या ‘ मेलम्ची खानेपानी आयोजना त्यति सजिलै आउदैन भन्ने त उहाँलाई थाहा थियो नै । आयोजनाको बारेमा गहिरो जानकारी प्राप्त गर्नु भएपछि ओलीले बैठकमा टेक्निकल समस्या के हो यो आयोजना सम्पन्न गर्न के गर्नुपर्छ भन्दा मन्त्रालयको टिम जवाफविहिन भएपछि उहाँले नै एउटा अन्तर्राष्ट्रिय स्तरको विज्ञ समूह बनाउन प्रस्ताव गर्नुभयो । र रातो, पहेंलो, हरियो इन्डिकेटर सहितको समस्याको पहिचान गरौं र के–के सुधार गर्नुपर्ने कुरा विज्ञ समूहले प्रस्तुत गर्छ, त्यसको आधारमा छिटो भन्दा छिटो काठमाडौँबासीलाई मेलम्चीको पानी खुवाउन पर्छ भन्ने कुरा बताउनु भएपछि त्यसैको आधारमा निर्णय भएर अन्तर्राष्ट्रिय स्तरको विज्ञ परामर्शदाता ल्याएर उहाँको सुझावको आधारमा समयको सिमा तोकेर रातो इन्डिकेटरलाई सुधार गरेर पहेँलोलाई आंशिक सच्चाएर प्राविधिक रूपले परियोजनाका सबै टीमलाई उत्साह भरेर काम सम्पन्न गरी राष्ट्रपतिको हातबाट भृकुटीमण्डपको पानी धारामा पानी खसालेर उपत्यका बासीको घरघरमा मेलम्चीको पानी पु¥याउने अवस्थामा पु–याउनु भएको थियो ।
तत्कालीन खानेपानी सचिवले मसँगको कुरामा एउटा कुरा भन्नुभएको थियो आफू इन्जिनियर देखि सचिवसम्म भएको र टेक्निकल पनि ज्ञान भएको विज्ञ छु भन्ने लाग्नेले पनि यो बारेमा सोचेको थिइन । प्रधानमन्त्रीज्यूको टेक्निकल बुझाइ र निर्णय मेरो तीन दशकको सरकारी क्षेत्रको अनुभवमा यस्तो राजनीतिज्ञ मैले भेटेको छैन। जसको कारणले दशकौँ नआएको मेलम्ची पानी आज उपत्यकामा ल्याउन सफल भइयो आज ऐतिहासिक दिन मेरो लागि पनि हो देशको लागि पनि हो ।
२०७६ असोज २ गते सड़क यातायातको लागि सुरूङ मार्गको रूपमा नागढुंगा सुरूङ मार्गको शिलान्यास गर्नुभयो जब काम शुरू भयो जग्गाको मुआब्जाको कारण देखाएर चार महीना जति काम नै अगाडी बढेन ।
मैले यो आयोजनालाई नजिकबाट नियालिरहेको थिएँ । जग्गाको मुआब्जाको निर्णय कारणले स्थानीयले अवरोध गोररहेका थिए । मुआब्जाको निर्णय गर्नुपर्ने फाइल कहिले गृह मन्त्रालय कहिले, भूमिसुधार मन्त्रालय कहिले भौतिक मन्त्रालयको काम भनेर धेरै समय अलमलियो । यो आयोजनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले नजिकबाट नियाली रहनुभएको थियो । मैले उहाँलाई सबै कुराको जानकारी गराएँ । उहाँले मलाई भोलि नै साइटमा गएर हेरेर रिपोर्ट दिनुस के निर्णय गर्नुपर्ने हो त्यही मात्र मलाई भन्नुस भन्नुभयो । त्यो निर्णय म गर्छु भन्नुभयो। मैले त्यसको भोलिपल्ट वैदेशिक सहायता हेर्ने सडक विभागको उपमहानिर्देश सहित नागढुंगा सुरुङ मार्गमा गएर वस्तुगत अवस्था हेरेर फर्केपछि बेलुका फाइलको अवस्थासहित प्रधानमन्त्रीलाई सबै जानकारी गराएपछि तत्काल भौतिक पूर्वाधार तथा यातायत व्यवस्थामन्त्री बसन्त नेम्वाङ्गलाई नागढुंगा सडकका बारेमा सोधेर सोही दिनको मन्त्रिपरिषद बैठकबाट ठाडो निर्णय प्रस्तावको रूपमा पेस गरेर सो निर्णय गरेर सुरुङमार्गको निर्माणमा कहिल्यै कुनै अवरोध नहुने वातावरणको सिर्जना गराउनु भएको थियो ।
स्मरणीय के छ भने २०७९ को कात्तिकमा पनि नागढुंगा सुरुङमार्गको स्थलगत भ्रमण गरी प्रगतिको अवस्थाको जानकारी लिनुले उहाँको आफ्नो निर्णय प्रतिको उत्तरदायित्व र विकास प्रतिको लगाव सधै अटल रहिरहेको छ ।
यी त प्रतिनिधि मुलक घटना मात्र हुन् उहाँको प्रधान्त्री कालमा भएका धेरै निर्णयले राष्ट्र, राष्ट्रियता विकाश समृद्ध सधैं कोशेढुंगा सावित गर्नेछ र राष्ट्रको लागि ऐतिहासिक निर्णय अजर र अमर रहिरहनेछ ।
(थपलिया नेपाल नेपाल बुद्धिजीवि परिषद्का महासचिव हुनुहुन्छ ।)






प्रतिक्रिया