अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पर्यटकको रोजाइमा गुप्तेश्वर गुफा

पर्यटकको रोजाइमा गुप्तेश्वर गुफा


लेखनाथ – ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्त्व बोकेको प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ, पोखरा–१७ को छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफा। पोखरामा आउने जो–कोही विदेशी तथा स्वदेशी पर्यटक गुप्तेश्वर महादेश गुफा अवलोकन गर्न पुग्ने गर्छन्।

पोखराका प्रमुख पर्यटकीय स्थलमध्ये गुप्तेश्वर महादेव गुफा, फेवाताल, पातलेछाँगो, पुग्दीको बुद्ध शान्ति स्तुप र शिव महादेवको मूर्ति एकै क्षेत्रतर्फ पर्ने र ती सबै पर्यटकीय गन्तव्य एकै दिन अवलोकन गर्न सकिने हुँदा त्यस क्षेत्रमा दैनिक स्वदेशी तथा विदेशी पर्यटकको बाक्लो उपस्थिति रहने गर्छ।

जमीनबाट करिब १५० मिटर तल अवस्थित यस गुफाको पूर्वी भागबाट पातले छाँगोबाट खसेको झरना दृश्यावलोकन गर्न सकिन्छ । दक्षिण एसियाका सबैभन्दा ठूला गुफाहरूमा पर्ने यो गुफाभित्र मन्दिरहरू र ठूला खुला ठाउँ पनि रहेका छन्।

गुफा अवलोकन गर्दै स्याङ्जाका कृष्ण क्षेत्रीले भन्नुभयो, ‘प्राकृतिकरूपमा सुन्दर र गहिराइमा रहेको गुप्तेश्वर महादेव गुफा अवलोकन गर्दा अत्यन्त आनन्द आयो।’ पोखरा ताल र गुफैगुफाको शहरका रूपमा चिनिने गर्छ। कास्कीमा एक दर्जन ताल र एक दर्जन बढी गुफाहरू रहेको जानकारी भूर्गवविद् डा कृष्ण केसीले बताउनुभयो।

कोरोनाको बेला केही महिना बन्द गर्नुपरेको गुफामा पछिल्ला वर्ष अवलोकन गर्ने पर्यटटको सङ्ख्या बढेको छ । गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले गुफा अवलोकनमा पछिल्लो वर्ष अवलोकनकर्ता बढेको र शनिबार र बिदाका दिन त भिड नै लाग्ने बताउनुभयो।

गुफामा अत्याधुनिक बारकोड स्क्यानर गेट राखिएको छ। टिकटमा भएको बारकोड स्क्यान गरेपछि मात्र गेट खुल्ने भएकाले गुफामा दैनिक कति पर्यटक आए भन्ने विवरण लिन पनि सहज हुने भएको गुप्तेश्वर महादेव गुफा व्यवस्थापन कार्यालयका प्रमुख नारायण पौडेलले जानकारी दिनुभयो।

कार्यालय प्रमुखले पौडेलले भन्नुभयो, ‘कोरोना अगाडि आर्थिक वर्ष २०७४/०७७ मा टिकट बिक्रीबाट मात्र वार्षिक रु. चार करोड ५२ लाख आम्दानी भएको थियो ।’ कोरोनापछिको आर्थिक वर्ष २०७८/०७९ मा गुफा प्रवेशका लागि स्वदेशी तथा विदेशी पर्यटकबाट रु.दुई करोड ९३ लाख ६५ हजार नौ सय २५ सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७८/०७९ मा एक लाख १९ हजार सात सय ११ विदेशी पर्यटक, दुई लाख ५२ हजार ८२२ स्वदेशी पर्यटक र ८२ हजार एक सय ७८ नेपाली विद्यार्थीले गुफा अवलोकन उहाँले बताउनुभयो।

चालु आर्थिक वर्ष २०७९/०८० को सात महिना अर्थात माघ महिनासम्म गुफा अवलोकनका लागि विदेशी पर्यटक एक लाख १९ हजार चार सय ६४, नेपाली पर्यटक एक लाख ५१ हजार चार सय ८७ र नेपाली विद्यार्थी एक लाख छ हजार  एक सय ९८ जना रहेका छन् । यसै आर्थिक वर्षको सात महिना अवधिका प्रवेश शुल्क बाट मात्र रु दुई करोड ३२ लाख ३७ हजार छ सय ८० जम्मा भइसकेको जानकारी उक्त कार्यालयले दिएको छ । गुफा अवलोकन गर्न प्रवेश शुल्क विदेशीलाई रु एक सय, नेपाली पर्यटकलाई रु ५० र विद्यार्थीलाई रु ३५ लिइँदै आइएको छ ।

गुप्तेश्वर महादेव गुफामा साँझ आरती सेवा समेत सञ्चालनमा ल्याइएको छ । विश्व शान्तिको कामनासहित पारिवारिक सुख शान्ति, पितृ उद्धारलगायतका विविध लक्ष्यका साथ आयोजना गरिने आरती सेवा प्रत्येक हप्ताको सोमबार साँझ एक घण्टा सञ्चालन गरिँदै आएको छ । तीन जना गुरुद्वारा शुद्ध गाईको घिउ, कपुर, ज्योतिलगायतका पूजा सामग्रीको माध्यमबाट गरिने आरती विशेषगरी शिव र विष्णु भगवान् तथा दुर्गादेवी मन्त्र वाचनद्वारा समर्पण गरिने गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

विसं २०५१ देखि सञ्चालनमा आएको गुप्तेश्वर गुफामा वार्षिक पाँच लाखको हाराहारीमा आन्तरिक र बाह्य पर्यटकले टिकट काटेर अवलोकन गर्ने गरेको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो । कोरोनाको अवधिमा भने त्यो सङ्ख्या घटेको थियो ।

गुप्तेश्वर गुफा व्यवस्थापन समितिले गुफाको आम्दानीबाट गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस र गुप्तेश्वर महादेव वेद विज्ञान पाठशाला सञ्चालन गर्दै आएको छ । क्याम्पस र पाठशाला सञ्चालनमा गुफा व्यवस्थापन समितिले वार्षिक रु एक करोडभन्दा बढी खर्च गर्ने गरेको छ ।

Skip This