अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

परराष्ट्र नीति पुनरावलोकन अन्तिम चरणमा: परराष्ट्रमन्त्री पौड्याल

परराष्ट्र नीति पुनरावलोकन अन्तिम चरणमा: परराष्ट्रमन्त्री पौड्याल


परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले परराष्ट्र नीति पुनरावलोकनको काम अन्तिम चरणमा पुगेको बताउनुभएको छ।

राष्ट्रियसभाको आजको बैठकमा समय लिएर उहाँले नीति अनुसन्धान प्रतिष्ठानले पुनरावलोकन गरिरहेको नीति एक महिनाभित्र सार्वजनिक हुने सो अवसरमा जानकारी दिनुभयो । ‘दुई वर्षअघि नीति बनेको, कार्यान्वयन अलिअलि भएको तर सार्वजनिक नभएको अवस्था थियो । वर्तमानमा विदेशीका विभिन्न रणनीति आएको परिप्रेक्षमा हाम्रो परराष्ट्र नीति पुनरावलोकन हुनुपर्छ। यसलाई समयसापेक्ष बनाउनुपर्छ, सबै राजनीतिक दलहरुले यसलाई अपनत्व लिनुपर्छ भन्ने ‘मिसन’ थियो’, उहाँले भन्नुभयो, ‘सोही उद्देश्यअनुरुप प्रतिष्ठानले अहिले हाम्रो नीतिलाई पुनरावलोकन गरिरहेको छ ।’

क्षमता अभिवृद्धि, नीतिमा भएको प्रष्टता र दीगोपनलाई सुनिश्चिता गर्नुपर्ने जोड दिँदै उहाँले परराष्ट्र क्षेत्रले सार्वभौमसत्ताको संरक्षण र राष्ट्रियताको प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । ‘परराष्ट्रको काम त्यतिमात्रै होइन रहेछ, राहत र उद्धार पनि महत्वपूर्ण रहेछ, मैले त्यही गएर बुझेँ”, उहाँले भन्नुभयो, “विदेशमा रहेका नेपालीको यति धेरै राहत र उद्धार गर्नुपर्ने रहेछ, त्यसबारेमा हाम्रो परराष्ट्र नीति बोलिरहेको छैन ।”

उहाँले नीतिमा प्रष्टसँग आप्रवासन र यसले पारेको असरलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो । “ट्र्याक टु र पब्लिक डिप्लोमेसी, सुरक्षा निकायका भूमिकालाई अब बन्ने परराष्ट्र नीतिमा राख्नुपर्नेछ’, उहाँले भन्नुभयो, “त्यहीअनुसार हामीले पुनरावलोकन गर्दैछौँ ।’ आफूले पदभार सम्हालेलगत्तै सेवा प्रवाहलाई प्रमुखता दिएर काम गरेको जानकारी दिँदै उहाँले जिम्मेवारीका अवधिमा आफूले राहदानी, कन्सुलर र राहत तथा उद्धार सेवा प्रभावकारी बनाएको दाबी गर्नुभयो ।