अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सन्दीपको मुद्दामा सुनुवाइ सकियो, आदेश आजै आउने

सन्दीपको मुद्दामा सुनुवाइ सकियो, आदेश आजै आउने


काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको सुनुवाइ सकिएको छ।  सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता सरोजकृष्ण घिमिरेका साथै सरकारको तर्फबाट सहन्यायधिवक्ता सञ्जीवराज रेग्मीसहितले बहस गरेसँगै सुनुवाइ सकिएको हो ।  यससँगै सर्वोच्चले आजै आदेश सुनाउने तयारी गरेको छ ।

यसअघि आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा बहस नसकिएपछि मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । बलात्कार आरोपित लामिछानेले उच्च अदालतको प्रतिबन्धात्मक आदेशविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।  सर्वोच्चमा सन्दीपले दायर गरेको मुद्दासँगै सरकारले उच्च अदालतले धरौटीमा छाड्ने आदेशविरुद्ध दायर गरेको मुद्दा पनि लगाउमा राखेर सुनुवाइ गरिएको थियो  । गत शुक्रबार ईश्वरप्रसाद खतिवडाको एकल इजलासले दुवै मुद्दालाई लगाउमा राखेर सुनवाइ गर्न आदेश दिएका थिए ।

सुनुवाइ सकिएसँगै सोमबार नै आदेश आउने भएको छ। आइतबार पीडित किशोरीका तर्फबाट १ जना कानुन व्यवसायी र २ जना सरकारी वकिलले बहस गरेका थिए। यस्तै, सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भू थापासहित कृष्णप्रसाद सापकोटा, सविता भण्डारी बराल, मुरासी सापकोटाले बहस गरेका थिए।

पीडितको पक्षबाट बहस गर्नेहरुले सन्दीपलाई टीममा राख्दा विपक्षी खेलाडीहरुले हातसमेत नमिलाएको भन्दै खेल्नका लागि टिममा राख्न नहुने र उच्च अदालत पाटनले धरौटीमा छाडेको आदेश रद्द गर्दै पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने माग राखेका थिए।

नाबालिक किशोरीमाथि बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंको थुनछेक आदेशपछि मुद्दाको पुर्पक्षका लागि थुनामा गएका सन्दीपलाई उच्च अदालत पाटनले सर्तसहित २० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। 

देश छाडेर विदेश जान नपाउने लगायतका सर्तका कारण सन्दीप संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा हुने आईसीसी विश्वकप लिग-२ खेल्ने नेपाली टोलीमा सहभागी हुन पाएनन्। आफूले विदेश जान नपाउने उच्च अदालतको सर्त खारेजीको माग गर्दै सन्दीपले सर्वोच्च अदालतमा निवेदन दिएका थिए।