काठमाडौं – राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको आचारसंहिता बुधबारदेखि लागू हुने भएको छ।
निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौड्यालले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि भोलि (बुधबार)देखि चैत ५ गतेसम्म आचारसंहिता लागू हुने जानकारी दिनुभयो।
यही फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ। ‘’दुवै पदको निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ ।’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त आचारसंहिता, २०७९ मिति २०७९ भदौ १३ गतेको नेपाल राजपत्र खण्ड-७२, सङ्ख्या ३२ मा प्रकाशन भइसकेको छ ।’
आयोगका अनुसार उम्मेदवारको अन्तिम नामावली आज(मङ्गलबार) प्रकाशन गर्ने कार्यक्रम रहेको छ। उम्मेदवारको अन्तिा नामावली प्रकाशनपछि राष्ट्रपति र उपराष्ट्रपति पदको उम्मेदवारहरुले प्रचारप्रसार गर्न पाउने आयोगले जनाएको छ ।
संवैधानिक व्यवस्था अनुसार उक्त निर्वाचनका लागि सङ्घीय संसद्मा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कूल ८८२ मतदाता रहेको निर्वाचक मण्डल रहने छ ।





प्रतिक्रिया