काठमाडौं – हिउँदयाम सकिएसँगै देशभर प्रि–मनसुन सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
काठमाडौं – मौसमविद् मञ्जु बासीका अनुसार हिउँदयाम सकिएर मार्च १ अर्थात् आजदेखि सुरु भएको प्रि-मनसुन तीन महिनासम्म रहनेछ। प्रि-मनसुनको अवधि मार्च, अप्रिल र मेसम्म रहने, त्यसपछि मनसुन सुरु हुने उहाँले बताउनुभयो।
प्रि-मनसुनको समयमा दिउँसो मेघगर्जन/चट्याङ्का साथै हावाहुरी र असिना पानीको सम्भावना रहने मौसमविद्ले बताएका छन्। यस मौसमी प्रणालीका समयमा स्थानीय वायुको प्रभाव धेरै हुने गरेको बताइएको छ।
स्थानीय वायुको प्रभावका कारण आज दिउँसो पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् बासीले जानकारी दिनुभयो । उहाँका अनुसार आज सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
यस वर्ष हिउँदमा १४ वर्षयताकै कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हिउँदयाम सकिने बेलामा केही दिनअघि काठमाडौं, पोखरासहित केही ठाउँमा हल्कादेखि सामान्य वर्षा भएको थियो । यस वर्षको हिउँदमा उच्च पहाडी र हिमाली जिल्लामा न्यून हिमपात भएको विभागले जनाएको छ ।






प्रतिक्रिया