काठमाडौं – सभामुख देवराज घिमिरेले सञ्चारमाध्यमसम्बन्धी विधेयकलाई अघि बढाउन आफू तयार रहेको बताउनुभएको छ। आज नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले इञ्जा डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो।
सभामुख घिमिरेले सञ्चारकर्मीहरुको हकअधिकार र व्यवसायिक दक्षताका लागि नीति र व्यवहारबाट सहयोग गर्नुपर्ने कतिपय विधेयकहरु अल्झिरहेका, विवादमा रहेर रोकिएकाले तिनीहरुलाई अघि बढाउन आफू तयार रहेको जानकारी दिनुभयो।सभामुख घिमिरेले भन्नुभयो, ‘पत्रकारितालाई हेर्दा हाम्रो विगतको लक्ष्य खास गरेर व्यवस्थालाई परिवर्तन गर्नुथियो । विरोध गर्नु थियो, ढाल्नु थियो । बहुदलिय व्यवस्था वा लोकतान्त्रिक गणतन्त्रको संविधान र संविधानबाट निर्वाचित निकायहरु बनिसकेपछि कसरी जानुपर्छ भन्ने विषयमा खोजमुलक ढङ्गबाट जानुपर्छ, अनुसन्धानात्मक ढङ्गबाट जानुपर्छ । गाउँको वास्तविकतालाई पनि उजागर गर्नुपर्छ । जनताको जीवनसँग गाँसिएका समाचारहरु लिएर आउने काममा लाग्नुपर्छ । बहुदलीय व्यवस्था आइसकेपछि हामीले व्यवस्थामा परिवर्तन गरेपनि हामीले अब अवस्थामा खासै परिवर्तन गर्न सकेको छैनौँ ।’
उहाँले रोकिएका विधेयकहरुमा सञ्चारमाध्यमसँग बसेर छलफल गर्न र संसदमा अघि बढाउने प्रक्रियामा पुग्न आवश्यक रहेको धारणा औंल्याउनुभयो । सभामुख घिमिरेले सञ्चारमाध्यमहरुले खोजमुलक र जनतामुखी समाचार सम्प्रेषण प्रसारण गर्नुपर्ने बताउनुभयो । सभामुख घिमिरेले अवस्था परिवर्तनका लागि पत्रकारिताको भूमिका महत्त्वपूर्ण उल्लेख गर्दै समृद्ध समाज बनाउन र प्रजातन्त्रलाई बलियो बनाइ राज्य सञ्चालनका अङ्गहरु व्यवस्थापिका र कार्यपालिकालाई प्रभावकारी बनाउन सञ्चारमाध्यमहरुको भूमिका उल्लेखनीय रहेको बताउनु भयो ।
‘सञ्चारकर्मीहरुको हकअधिकार र व्यवसायिक दक्षताका लागि नीति र व्यवहारबाट सहयोग गर्नुपर्ने कतिपय विधेयकहरु अल्झिरहेका, विवादमा रहेर रोकिएका यी कुराहरुलाई सभामुख भएको नाताले अघि बढाइयोस् भन्ने चाहना आकाङ्क्षा जायज छ। यस क्षेत्रका समस्या के हुन्, आउन लागेको विधेयको विरोध गर्नुको कारण के हो ? रोकिएको विधेयक अघि बढाउन मेरो ठाउँबाट अघि बढाउन म तयार छु,’ सभामुख घिमिरेले भन्नुभयो, ‘अवस्था परिवर्तनका लागि पत्रकारिताको भूमिका महत्वपूर्ण छ। समृद्ध समाज बनाउन, प्रजातन्त्रलाई बलियो बनाउन र राज्य सञ्चालनका अङ्गहरु व्यवस्थापिकालाई प्रभावकारी बनाउन, संसदको भूमिका गरिमायुक्त बनाउन, संसदले खेलेको भूमिका कार्यान्वयन गर्न कार्यपालिकालाई सशक्त बनाउन सञ्चारमाध्यमहरुको भूमिका महत्त्वपूर्ण छ ।’
इञ्जाले इञ्जा बौद्धिक पत्रकारिता पुरस्कारबाट जगत नेपाल र माधवप्रसाद तिवारीलाई सम्मान गरेको छ भने इञ्जा खोजिपत्रकारिता पुरस्कार, २०७९ बाट मात्रिका दाहाल र तारा वाग्लेलाई सम्मान गरेको छ।
त्यस्तै, ग्रामिण पत्रकारिता पुरस्कार, २०७९ बाट सरिता चलाउनेलाई सम्मान गरिएको छ भने फोटो पत्रकारिता पुरस्कार, २०७९ मा इञ्जाले सुरेशकुमार श्रेष्ठ र नरेन्द्र श्रेष्ठलाई सम्मान गरेको छ ।




प्रतिक्रिया