अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यो गठबन्धन पाँचै वर्ष टिक्छ : प्रधानमन्त्री दाहाल

यो गठबन्धन पाँचै वर्ष टिक्छ : प्रधानमन्त्री दाहाल


काठमाडौं -नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ८ दलीय गठबन्धन ५ वर्ष टिक्ने बताएका छन्।

प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई अभिमुखीकरण दिन काठमाडौंको तीनकुनेमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धन दीर्घकालीन हुने पनि बताउनुभयो।

‘हेर्दै जानुहोला यो गठबन्धन ५ वर्ष टिक्छ,’ दाहालले भन्न्ुभयो , ‘मन्त्रिपरिषद विस्तार प्रक्रिया आजैदेखि सुरू गर्छु।’ दाहालले गत पुस १० मा बनेको गठबन्धन यसबीचमा कताकता रूमलिएको पनि बताउनुभयो।

प्रधानमन्त्री दाहाललाई १६ मन्त्रालयको जिम्मेवारी छ ।

सरकारबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा बाहिरिएका थिए। राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्न ७ दल सहमत भए पनि यी दल सबै सरकारमा भने सहभागी भइसकेका छैनन्।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचन र उपराष्ट्रपति निर्वाचन सकिएलगत्तै विश्वासको मत लिने पनि बताए। यही फागुन २५ गते राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ।

८ दलको समर्थनमा राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल उम्मेदवार छन् भने एमालेबाट सुवास नेम्वाङ उम्मेदवार छन्।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी हुने पनि बताए।

‘चुनावका बेला म रामचन्द्रजीको निर्वाचन क्षेत्रमा गएर उहाँ प्रधानमन्त्री हुने नेता हो भनेको थिएँ। उहाँ राष्ट्रपति हुनु हुने भयो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘उहाँले संविधानको रक्षा गर्न सक्नुहुन्छ।’

८ दलले संघीय सांसदलाई राष्ट्रपति निर्वाचनबारे प्रशिक्षण दिन सुरू गरेको छ। शुक्रबार सातै प्रदेशमा प्रदेश सभा सदस्यसँग अन्तर्क्रिया गर्ने ८ दलको तयारी छ।

Skip This