काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक कामका लागि अभ्यास चाहिने बताउनुभएको बताउनुभएको छ।
११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका सन्दर्भमा मोतीदेवी स्मृति केन्द्रले आज काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संसारमा कुनै पनि कुरा असम्भव रहेको तर यसका लागि प्रयास आवश्यक रहेको बताउनुभयो।
अध्यक्ष ओलीले भन्नुभयो, ‘बिना अभ्यास हिमाल चढिन्छ, न धावन गरिन्छ, न अल्ट्रा धावन गरिन्छ, न आर्ट गरिन्छ, न नृत्य गरिन्छ, न हेडमास्टर भएर व्यवस्थापन गर्न सकिन्छ, न विद्यार्थी, शिक्षक र अभिभावक सबैलाई मिलाएर लैजान सकिन्छ, यी सबैका लागि अथक प्रयास र अभ्यास चाहिन्छ।’
अध्यक्ष ओलीले देशका लागि सबैले केही न केही चिज गर्न सकिने तर सबै गर्न नसकिने बताउनुभयो। उहाँले भन्नुभयो, ‘सबै चिज हामी गर्न सक्दैनौं, सुनमायाबाट सिक्ने भनेको धावन हो, योङहरुले सिके पनि हुन्छ तर सबैले सकिँदैन, तर सबैले सिक्न सकिँदैन, असम्भव छैन है भन्ने कुरा सिक्न सकिन्छ, आफूले गर्ने आफ्नो क्षेत्रको काम गर्न सकिन्छ ।’

अध्यक्ष ओलीले अब महिलाहरु पछाडि पर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब महिलाहरु अगाडि बढ्नुपर्ने रहेछ, हामी त चुप लागेर बसे हुने रहेछ की क्या हो भन्ने होइन, पुरुषहरुले बुझ्न जरुरी छ, अब महिलालाई पछाडि पार्नुहुँदैन ।’
उहाँले विभिन्न साधना, संकल्पबाट देशका लागि योगदान दिएका महिलाहरुको योगदानको पनि चर्चा गर्नुभयो। कार्यक्रममा समाजसेवी सावित्री थापा, शिक्षामा उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने निरकेशरी श्रेष्ठ, नृत्य क्षेत्रकी वेटी बज्राचार्य, पर्वतारोहणमा लाक्पा फुटी शेर्पा, राजनीतिमा सुशीला श्रेष्ठ लगायतलाई सम्मान गरिएको थियो।

अध्यक्ष ओलीले ‘प्रेरणादायी महिलाहरू’ नामक पुस्तक लोकार्पण गर्नुभयो। पुस्तकमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने २४ महिलाको जीवनी उल्लेख छ। कार्यक्रममा प्रेरणादायी महिलाहरुको विषयमा तयार गरिएको वृतचित्र पनि प्रदर्शन गरिएको थियो।




प्रतिक्रिया