अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शहीदको सपना साकार पार्न सबै लागौं: सभामुख घिमिरे

शहीदको सपना साकार पार्न सबै लागौं: सभामुख घिमिरे


दमक प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले शहीदको सपनालाई साकार पार्न सबै लाग्नु पर्ने बताउनुभएको छ। उहाँले शहीदले गरेको बलिदानी र देखेको सपनाअनुसार जनताको जीवनमा अनुभूत गर्ने गरी काम गर्नुपर्ने भन्दै यस्तो बताउनुभएको हो। 

५० वर्षअघि आजकै दिन फागुन २१ गते झापा र इलामको संगमस्थल इलामको सुखानीमा मारिएका पाँच शहीदको सम्झना गर्दै उहाँले शहीदका सपनालाई पूरा गर्न एकजुट भएर लाग्न आग्रह गर्नुभयो।

झापाको बिर्तामोडमा हीन फाउन्डेशनले प्रकाशन गरेको झापा परिचय स्मारिकाकाको विमोचन गर्नुहुँदै सभामुख घिमिरेले राजनीतिक उपलब्धि हासिल भए पनि जनताको जीवनयापनमा परिवर्तन ल्याउन बाँकी रहेको बताउनुभयो। राजनीतिक परिवर्तनसँगै अब जनताको जीवनपद्धतिमा पनि परिवर्तन गर्न सक्नुपर्छ, उहाँले भन्नुभयो ।

राजनीतिक उपलब्धिको रक्षा गर्दै जनताको जीवनस्तर उकास्ने काममा अब सबैको ध्यान जानुपर्छ, घिमिरेले भन्नुभयो । शहीदले देखेको सपना र गरेको त्यागअनुसार जनतालाई सुखी बनाउन बाँकी नै रहेको घिमिरेले चर्चा गर्नुभयो । निरङ्कुशता अन्त्यगरी प्रजातन्त्र ल्याउन बलिदानी दिएका शहीदलाई कहिल्यै भुल्न नसकिने उहाँले बताउनुभयो । 

सभामुख घिमिरे शनिबार गृह जिल्ला झापा आउनुभएको हो । उहाँ झापा तथा आफू निर्वाचित भएको क्षेत्र २ का विभिन्न कार्यक्रममा सहभागी बन्नुभएको छ । केही धार्मिक कार्यक्रममा समेत उहाँ सहभागी रहनुभएको उहाँको सचिवालयले जनाएको छ ।