अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फागु पूर्णिमाले मौलिक संस्कृतिको संरक्षण गर्न प्रेरणा प्रदान गरोस्: राष्ट्रपति भण्डारी

फागु पूर्णिमाले मौलिक संस्कृतिको संरक्षण गर्न प्रेरणा प्रदान गरोस्: राष्ट्रपति भण्डारी


काठमाडाैं – राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पूर्णिमा अर्थात हाेली पर्वले राष्ट्रिय एकतालाई थप सुद‍ृढ बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।

नेपालीहरूको महान् पर्व फागु पूर्णिमा (होली) को अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले  फागुपूर्णिमा जस्ता पर्वहरूले सम्पूर्ण नेपालीबीच आपसी  प्रेम, सद्‌भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुद‍ृढ बनाउन फागु पूर्णिमाले योगदान पुर्‍याउने विश्‍वास व्यक्त गर्नुभएकाे छ।

यस पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसंगति एवं कुरीतिहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरूको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना पनि उहाँले दिनुभएकाे छ।

राष्ट्रपति भण्डारीले फागुपूर्णिमाको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना दिनुभएकाे छ ।

हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रंगहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा फागुपूर्णिमा पर्व हर्षोल्लासपूर्वक मनाउने गरिएकाे उहाँले उल्लेख गर्नुभएकाे छ ।

‘असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मियताका साथ आफन्तजन एवं साथीसंगीहरूसँग एकआपसमा अबिर तथा रंग दलेर रमाइलो गर्ने परम्परा छ, नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा होलीमा खेलिने रङ्गहरू जस्तै विविधतापूर्ण छ’ राष्ट्रपतिकाे सन्देशमा उल्लेख छ ।