अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिका, बेलायत र अष्ट्रेलियाबीच नयाँ सुरक्षा सम्झौता

अमेरिका, बेलायत र अष्ट्रेलियाबीच नयाँ सुरक्षा सम्झौता


काठमाडौँ-संयुक्त राज्य अमेरिका, बेलायत र अष्ट्रेलियाबीच नयाँ सुरक्षा सम्झौता भएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक र अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी एल्बानिजले संयुक्त पत्रकार सम्मेलन गर्दै त्रिपक्षीय नयाँ सम्झौताको जानकारी दिएका हुन्।

डेढ वर्षअघि त्रिदेशीय सुरक्षा छाता ‘औकस’ बनाएका यी शक्तिशाली ३ देशबीच अमेरिकाको क्यालिफोर्नियामा भएको वार्ताबाट नयाँ सुरक्षा रणनीतिमा सहमति गरेका हुन्।

सहमति अनुसार अष्ट्रेलियाले अमेरिकाबाट आणविक क्षमतासहितका ३ वटा पनडुब्बी खरिद गर्ने भएको छ।

अष्ट्रेलियाले सन् २०३० भित्र अरु २ वटा पन्डुब्बी पनि खरिद गर्न सक्ने जनाइएको छ।

अष्ट्रेलियाले खरिद गर्ने ति पनडुब्बी नयाँ पुस्ताको हतियार बाहक हुने र त्यसले क्षेत्रीय शक्ति सन्तुलन बनाएर राख्ने अमेरिकाले दावी गरेको छ। 

इण्डो प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभाव रोक्नका लागि यी ३ देशबीच औकस गठबन्धन बनेको हो।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनडुब्बीमा आणविक हतियार नहुने र आणविक मुक्त देश हुने अष्ट्रेलियाको प्रतिबद्धतालाई खतरामा नपार्ने दाबी गरे।

यस्तै बेलायतका प्रधानमन्त्री ऋषि सुनकले चीनले ‘विश्व व्यवस्थालाई चुनौती दिएको’ र यसलाई गम्भीर रूपमा लिनुपर्ने धारणा व्यक्त गरे।

उनले विश्व अस्थिर भएको र सुरक्षा चुनौती बढेको भन्दै आफूहरूले सशस्त्र बलहरूमा लगानी बढाउन लागेको जानकारी गराए।

सुनकले पत्रकार सम्मेलनमा तीन देशको साझेदारीपछि विश्वले अहिलेसम्म देखेको सबैभन्दा उन्नत पनडुब्बीहरू मध्ये एक उपलब्ध गराउने र त्यसले ब्रिटिश जहाज निर्माण गर्ने काममा हजारौंलाई रोजगारी सिर्जना गर्ने बताए। 

नयाँ एसएसएन-औकुस पनडुब्बीहरू यूकेले पनि प्रयोग गर्नेछ र योजना अनुरूप सन् २०३० को दशकको अन्त्यसम्ममा रोयल न्याभीका लागि सञ्चालन हुनेछ।

यूकेको पनडुब्बी निर्माणमा अमेरिकाले केही संवेदनशील प्रविधि उपलब्ध गराउने छ।

अस्ट्रेलियालाई उपलब्ध गराउने जहाज भने दक्षिणी अस्ट्रेलियामा निर्माण हुनेछ।

त्यसमा यूकेमा निर्मित केही सामग्रीहरूको प्रयोग गरिने छ र सन् २०४० को दशकको सुरुवातमा प्रयोगमा आउने बताइएको छ।

सोमबार उल्लिखित सम्झौता अन्तर्गत, रोयल अष्ट्रेलियन नेवी (आरएएन) का सदस्यहरूलाई पनडुब्बीहरू प्रयोग गर्न आवश्यक सीप र तालिम यसै वर्षदेखि अमेरिका र बेलायतको पनडुब्बी आधारहरूमा इम्बेड गरिनेछ।

सन् २०२७ बाट, अमेरिका र बेलायतले पश्चिमी अष्ट्रेलियाको पर्थमा आरएएन आधारमा थोरै संख्यामा आणविक सब्सहरू राख्नेछन्।एजेन्सी

Skip This