अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाल्पा दरबारलाई विश्व सम्पदामा सूचीकृत गर्न ५७ घर हटाइँदै

पाल्पा दरबारलाई विश्व सम्पदामा सूचीकृत गर्न ५७ घर हटाइँदै


तानसेन तानसेन नगरपालिकाले पाल्पा दरबारलाई विश्व सम्पदा सूचीमा पार्नका लागि दरबार परिसरका ५७ घर टहरा हटाउने निर्णय गरेको छ ।

कार्यपालिकाको नवौं बैठकबाट दरबार क्षेत्रमा भएका घर टहरा भत्काइने निर्णय भएको हो । ऐतिहासिक तथा पर्यटकीय गन्तव्यको महत्वपूर्ण क्षेत्र पाल्पा दरबार र पर्यटकीय नगरी तानसेन विश्व सम्पदा सूचीको लागि प्रयास भइरहेको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो ।

प्रमुख श्रेष्ठले भन्नुभयो,  ‘मूलढोकाको दायाँबायाँ र दरबार परिसरका सबै घर टहरा हटाउने सर्वसम्मत सर्वदलीय निर्णय भएको छ। पुरातत्व विभागले माघ १० गते दरबारलाई सौन्दर्यकरणको विकासका लागि तानसेन नगरपालिकालाई पत्र पठाएपछि नगरपालिकाले सल्लाहकार तथा सर्वदलीय बैठक राखेर घर टहरा हटाउने निर्णय गरेको हो, यो मेरो व्यक्तिगत निर्णय नभएकाले तानसेनलाई पर्यटकीय क्षेत्र बनाउन सहयोग पुर्याउँदै कुनै बाधा अवरोध नगर्नेमा विश्वस्त छु ।’

नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले पुरातन शैलीमा दरबार परिसरको विकास गरिन लागेको बताउनुभयो । प्रवत्ता कार्कीका अनुसार पर्यटनका लागि दरबार परिसरभित्र र बाहिरका सबै संरचना हटाउन लागिएको हो ।  जिल्ला प्रशासन कार्यलय, जिल्ला प्रहरी कार्यालय, विद्युत् कार्यालय, बाल सङ्गठन, राष्ट्रिय अनुसन्धान कार्यालयका भवनहरु हटाइनेछ ।

ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले धनी पाल्पाको प्रमुख गन्तव्य स्थलको रुपमा दरबारलाई चिनाउने गरी काम सुरु गरिने निर्णय, पुरातत्व विभागको पत्रको आधारमा कार्यपालिकाको निर्णय भएकाले दरबार परिसरका घर टहरा तथा अन्य संरचना हटाउन लागिएको तानसेन नगरपालिका वडा नम्बर ४ का अध्यक्ष हेमन्तराज शाक्यले जानकारी दिनुभयो ।

नगरपालिकाका अनुसार दरबार परिसरमा नगरपालिकाले निर्माण गरेका टहरा १२ वटा, घरेलु सिल्प कला विक्री भण्डार कक्ष (घरेलु तथा साना उद्योग) का १३, रेडक्रस सोसाइटी पाल्पा शाखाका तीन, नेपाल बाल संगठन एक, कर्मचारी मिलन केन्द्रका तीन वटा टहरा छन् । 

दरबारको सौन्दर्यकरणका लागि पहिलो चरणमा टहरा हटाइने, दोस्रो चरणमा मूलढोका मर्मत गरिने, जिल्ला समन्वय समिति हटाइने, बाल सङ्गठन हटाइने, राष्ट्रिय अनुसन्धान आयोगको कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य सङ्घको कार्यालय हटाइने नगरपालिकाका प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।