काठमाडौं– उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले भेटवार्ता गर्नुभएको छ। बिहीबार मन्त्रालयमा उपप्रधानमन्त्री श्रेष्ठ र राजदूत चौधरीबीच भेटवार्ता भएको हो।
भेटका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले दूरीका हिसाबले बङ्गलादेश नेपालको तेस्रो नजिकको छिमेकी मित्रराष्ट्र भएको बताउनुभयो। उहाँले दुवै कम विकसित राष्ट्र भएकाले मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ।
सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले कतारमा भएको अति कम विकसित मुलुकको सम्मेलनका क्रममा बङ्गलादेशका प्रधानमन्त्रीसँग आफूले भेटवार्ता गरेको पनि स्मरण गर्नुभयो । उहाँले बङ्गलादेश र नेपाल नजिकका र पुराना मित्रराष्ट्र भएको उल्लेख गर्नुभयो ।
भेटवार्ताका क्रममा राजदूत चौधरीले पनि नेपाल आफूहरूको नजिकको मित्रराष्ट्र भएको उल्लेख गर्नुभएको थियो । आफू नेपालमा राजदूत भएर आएको दुई वर्ष भइसकेको उल्लेख गर्नुहुँदै राजदूत चौधरीले त्यस क्रममा नेपाल र नेपाली आफूलाई धेरै मन परेको बताउनुभयो ।
उहाँले बङ्गलादेशको राष्ट्रिय दिवस (नेसनल डे) को अवसरमा २० मार्चमा हुने कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन उपप्रधानमन्त्री श्रेष्ठलाई आग्रह पनि गर्नुभयो । उक्त कार्यक्रम नेपालस्थित बङ्गलादेशी दूतावासले आयोजना गर्ने उहाँले जानकारी दिनुभयो।




प्रतिक्रिया