अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालकको मृत्युपछि पोखरी व्यवस्थापनमा चासो

बालकको मृत्युपछि पोखरी व्यवस्थापनमा चासो


पोखरा – गत फागुन ७ मा धारापानीका चार वर्षे बालक सुहान केसी बेपत्ता भए । उनको चारैतिर खोजी भयो तर बालकको शव भोलिपल्ट मात्रै नजिकको ठूली पोखरीमा भेटियो ।

उक्त घटनापछि आक्रोशित स्थानीयले पोखरीको संरक्षण नहुँदा बालकको ज्यान गएको भन्दै पोखरी व्यवस्थापनका लागि स्थानीय तहलाई झक्झकाए । तारबार नगरेको, जलकुम्भी र अन्य फोहरले पोखरीका कारण बालकको मृत्यु भएको उनीहरुको बुझाइ थियो ।

स्थानीयले पोखरी संरक्षणको आवाज उठाएपछि पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य घटनास्थल पुगेर जोखिममुक्त पोखरीको व्यवस्थापनका लागि आवश्यक रकम विनियोजन गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । अहिले भने पोखरा महानगरपालिका–५ धारापानी मार्गमा रहेको ठूली पोखरीले भने आफ्नो स्वरुप फेर्न थालेको छ ।

सोही अनुसार अहिले ठूली पोखरी संरक्षण एवम् निर्माण समिति बनाएर काम अघि बढाइएको वडा नं ५ का वडाध्यक्ष विष्णुुप्रसाद बरालले जानकारी दिनुभयो । उहाँले अप्रिय घटनापछि मात्र तालको संरक्षण र व्यवस्थापनका लागि पहल भएको स्वीकार्दै अब थप मानवीय क्षति हुन नदिन र पोखरीको सौन्दर्यतालाई कायम गर्न वडाले पहल गरेको बताउनुभयो ।

“बालकको शव पोखरीमा भेटिएपछि सबैको ध्यानाकर्षण भएको हो । अहिले जोखिममुक्त पोखरी बनाउने कार्यअघि बढेको छ”, बरालले भन्नुभयो । घटनापछि सामाजिक अभियन्ता अञ्जु केसीको संयोजकत्वमा पोखरी व्यवस्थापनका लागि १३ सदस्यीय समिति गठन भइ सक्रिय रुपमा काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार २०६२ सालको नापी अनुसार पोखरीको क्षेत्रफल साढे १० रोपनी छ ।

अहिले महानगरले पोखरीमा तारबारको लागि रु नौ लाख १७ हजार रकम विनियोजन पश्चात काम अघि बढेको समितिका अध्यक्ष केसीले जानकारी दिनुभयो । उहाँका अनुसार ताललाई जोखिममुक्त बनाएर सुन्दर बनाउने काम भइरहेको छ । निकट भविष्यमै थप व्यवस्थित र पर्यटकका लागि आर्कषक गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य लिएर काम अघि बढेको उहाँले बताउनुभयो ।

“यो तालको आफ्नै महत्व छ तर यसको संरक्षण र व्यवसस्थापन तर्फ ध्यान नदिँदा एक बालकले अनाहकमा ज्यान गुमाउनु प¥यो”, नागरिक समाजका अगुवा रामबहादुर पौडेलले भन्नुभयो, “तालतलैया पोखरी प्राकृतिक सम्पदा हुन्, यसको बेलैमा संरक्षण र सम्वद्र्धन गरेको भए एक बालकले अनाहकमा ज्यान गुमाउनु पर्दैनथ्यो ।” पोखरी व्यवस्थापनका लागि समितिको आयोजना र पोखरा महानगरपालिकाको सहयोगमा वडा कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत स्थानीयको उपस्थितमा दुई चरणमा पोखरी सफा गर्ने काम भइसकेको छ ।