काठमाडौं-पशुपतिनाथ मन्दिरको मुख्य मन्दिरभित्र गैरहिन्दू प्रवेश गरेको आरोपमा इटहरीका प्रियंका परियार र ओसीम अन्सारी पक्राउ परेका छन्।
पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई बुधबार इटहरीबाट पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई काठमाडौं ल्याएर प्रहरी वृत्त गौशालामा पठाइएको प्रहरीले जनाएको छ।
पशुपतिनाथ मन्दिरमा गैरहिन्दू प्रवेश गरेको विषय सामाजिक सञ्जालमा चर्चामा आएपछि उनीहरूविरुद्ध जाहेरी परेको थियो। प्रेम विवाह गरेका प्रियंका र ओसीमले केही दिनअघि पशुपतिनाथ मन्दिर परिसरमा पुगेर भिडियो बनाएका थिए। उक्त भिडियोमा ओसीमले मुस्लिम समुदायले लगाउने टोपी लगाएको देखिएपछि सामाजिक सञ्जालमा विषयले चर्चा पाएको थियो।
सोही विषयमा सांसद खुस्बु ओलीले सामाजिक सञ्जालमार्फत प्रश्न उठाएकी थिइन्। त्यसपछि पशुपति क्षेत्र विकास कोषले उनीहरूविरुद्ध प्रहरीमा जाहेरी दिएको बताइएको छ।
यता, पक्राउ पर्नुअघि अन्सारी दम्पतीले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै आफूहरू पशुपतिनाथ मन्दिरको मूल गर्भगृहमा प्रवेश नगरेको दाबी गरेका थिए। उनीहरूका अनुसार मूल ढोकाबाट प्रवेश गरे पनि भर्याङबाटै आफूहरूलाई फर्काइएको थियो।
प्रियंकाले पशुपतिनाथ आफ्नो आस्थाको केन्द्र रहेको बताउँदै श्रीमान् ओसीमलाई पनि मन्दिर देखाउन आफू त्यहाँ गएको उल्लेख गरेकी छन्।
ओसीम अन्सारी इटहरीमा व्यापार–व्यवसाय गर्दै आएका छन्। उनी इटहरी उपमहानगरपालिका–८ का स्थायी बासिन्दा हुन्। पक्राउ परेका दुवै जनामाथि प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।



प्रतिक्रिया