काठमाडौं – सेतो मच्छिन्द्रनाथ (आर्यालोकितेश्वरको मूर्तिको रथजात्रा) आजबाट सुरु भएको छ। करुणामय र आर्यालोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथको जात्रा हरेक वर्ष चैत शुक्ल अष्टमीको दिनदेखि मनाउने चलन छ।
रथयात्रा अहिले घण्टाघरबाट असन चोक ल्याइँदैछ । आज सेतो मच्छिन्द्रनाथलाई विधिवत् रूपमा पुजारीहरूले निकालेपछि रथमा राखेर रथलाई जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्याइन्छ । त्यस्तै, भोलिपल्ट असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोका र १७ गते हनुमानढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगन पुर्याइन्छ।
यसैगरी, चैत १८ गते लगन आमा रुख परिक्रमा, चैत १९ गते लगन, ज्याबहाल, द्यः लं, युतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म पुर्याइन्छ ।
सेतो मच्छिन्द्रनाथको मन्दिर १० औँ शताब्दीमा मल्लयुगमा निर्माण गरिएको विश्वास छ । यो मन्दिर सामाजिक, धार्मिक सहिष्णुताका लागि प्रख्यात छ ।
सबैलाई करुणाका दृष्टिकोणले हेर्ने र बोधिसत्त्व प्राप्त भए पनि बोधिसत्त्व नलिनु भएको भगवानको रूपमा सेतो मच्छिन्द्रनाथलाई लिने गरिन्छ किनभने जगतप्राणी अर्थात् सम्पूर्ण संसार, जीवजन्तु, कीटाणु सबैको उद्धार र दीर्घजीवनका लागि करुणामय भगवानको उत्पत्ति भएको किम्बदन्ती छ । बोधिसत्त्व पा बोधिचित्त अर्थात् सबैको भलो गर्ने, आयु आरोग्य हुने हो।






प्रतिक्रिया