अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोखरामा ‘आलु महोत्सव’

पोखरामा ‘आलु महोत्सव’


गण्डकी – एघारौँ संस्करणको ‘राष्ट्रिय हेम्जा आलु महोत्सव’ आउँदो आइतबारदेखि सुरु हुँदैछ । पोखरा महानगरपालिका-२५ हेम्जामा आयोजना हुने महोत्सवको तयारी तीव्र पारिएको आयोजक विष्णु पादुका क्लबले जनाएको छ।

कोभिड–१९ महामारीका कारण तीन वर्ष रोकिएको महोत्सवलाई यस वर्षदेखि पुनः निरन्तरता दिन लागिएको क्लबका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो । महोत्सव आउँदो वैशाख ३ गतेसम्म चल्नेछ।

व्यावसायिक कृषिको प्रवद्र्धनका साथै हेम्जालाई कृषि–पर्यटनको ‘हब’का रुपमा चिनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको क्लबका अध्यक्ष श्रेष्ठले बताउनुभयो । आलुलगायत ताजा तरकारीको बहृत् प्रदर्शनी, आलुका परिकारको प्रदर्शनी एवं बिक्री, आलुको पहाड निर्माण, कृषि झाँकीलगायत महोत्सवका आकर्षण रहनेछन् ।

किसानलाई लक्षित गरी माटो, बोटबिरुवा परीक्षण तथा रोगको निदान, कृषि उपज, बिउविजन, कृषियन्त्र, उपकरण आदिको प्रर्दशनी, कृषिसम्बन्धी सांस्कृतिक प्रस्तुती, कृषक सम्मानलगायतका कार्यक्रम पनि राखिएको छ ।

महोत्सव अवलोकनमा जाने सर्वसाधारणलाई आलुलगायत कृषि उपज किनमेलका लागि छुट्टै बिक्रीकक्ष निर्माण गरिने आयोजकले जनाएको छ । कृषिका तीस वटा व्यावसायिक ‘स्टल’ रहनेछन् । अन्य व्यापारिक ‘स्टल’ ८० वटा रहने क्लबका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । 

“कृषकलाई निःशुल्क रुपमा स्टल उपलब्ध गराउँछौँ”, उहाँले भन्नुभयो, “मुख्यगरी कृषि, पर्यटन र स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव राखिएको हो ।”

क्लबका सचिव वसन्त श्रेष्ठले महोत्सव आयोजना हुन थालेपछि हेम्जाको आलु देशमै ‘ब्राण्ड’ बनेको उल्लेख गर्नुभयो । “आलुका माध्यमबाट हेम्जालाई चिनाउने हाम्रो ध्येय हो, महोत्सवले आलु गाउँका रुपमा हेम्जालाई स्थापित गरिसकेको छ”, उहाँले भन्नुभयो, “कृषिलाई पर्यटनसँग जोड्न महोत्सवले टेवा पु¥याएको छ ।”

महोत्सवमा विविधता र आकर्षण थप्न मनोरञ्जनात्मक गतिविधिलाई पनि समेटिएको आयोजकले जनाएको छ । कलाकारहरुको साङ्गीतिक प्रस्तुती, रमाइलो मेला, बाल उद्यान आदिले पनि मेलामा आकर्षण थप्नेछ । 

पोखरा महानगरपालिकाको कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले हेम्जा आलुका लागि उर्बर ठाउँ भएको बताउनुभयो । उहाँले आलु महोत्सवले व्यावसायिक कृषिको महत्व अझै बढाएको उल्लेख गर्नुभयो । महोत्सवलाई किसानको हितसँग जोड्नुपर्ने प्रमुख कडरियाले बताउनुभयो । 

महानगरको कृषि शाखाका अनुसार हेम्जामा झण्डै तीन सय हेक्टरमा आलु खेती हुँदै आएको छ । किसानले वार्षिक दस करोड बराबरको आलु उत्पादन गर्दै आएका छन् । महोत्सवले व्यावसायिक आलु खेतीतिर किसानलाई आकर्षित गरेपनि उब्जाउ जग्गा भने घट्दै गएको छ । 

केही वर्षअघिसम्म चार सय ५० हेक्टरमा आलु खेती हुँदै आएको थियो । घरघडेरीका नाममा खेतीयोग्य जमिन नासिँने क्रम बढ्दो छ । गुणस्तरीय बिउ, मलको अभाव, हावापानीमा आउने परिवर्तनजस्ता कारणले पनि आलुको उत्पादकत्व घट्ने गरेको कृषि विज्ञहरू बताउँछन् । 
     
हेम्जामा ‘एम.एस–४२’, खुमल लक्ष्मी, जनकदेवलगायत जातिका आलु बाली लगाउने गरिन्छ । हेम्जाका एक हजार २० घरपरिवार कृषिमा आधारित छन् भने पाँच सय ४० किसानले व्यावसायिक आलु खेती गर्छन् ।

Skip This