काठमाडौं – आसन्न उपचुनावलाई लिएर बहालवाला प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै तनहुँको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँले प्रधानमन्त्री प्रचण्डविरुद्ध निर्वाचनको समयमा आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी दिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ संयोजक सूर्यमणि पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार पूर्वप्रधानमन्त्रीहरूसहित नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर डुम्रेलगायतको क्षेत्रमा गएको र चुनावी सभामा भाषणको क्रममा गठबन्धनका उम्मेदवारलाई जिताएर पठाए मन्त्री, मुख्यमन्त्री बनाउनेजस्ता अनूचित प्रभाव पारेको भन्दै कारबाहीको माग गरेका छन् ।
गठबन्धनको उम्मेदवारको प्रचार-प्रसारमा बहालवाला प्रधानमन्त्री संलग्न हुनु, उद्घाटन गर्ने बहानामा सेनाको हेलिकप्टर प्रयोग हुनु र निर्वाचनको बेलामा उम्मेदवारलाई भोट हालेर जिताए मन्त्री बनाउने सार्वजनिक अभिव्यक्ति दिएकोप्रति ध्यानाकर्षण गराउन चाहेको उजुरीमा उल्लेख छ ।
गठबन्धनका उम्मेद्वार गोविन्द भट्टराईको प्रचार-प्रसार र समर्थनका लागि प्रधानमन्त्री दाहाल नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी मंगलबार तनहुँ पुग्नुभएको थियो ।




प्रतिक्रिया