काठमाडौँ-नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दैछ। पार्टीको ११औँ महाधिवेशनपछि गठन भएको स्थायी कमिटीको यो पहिलो बैठक हो।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा सहभागी हुन नेताहरू आउने क्रम जारी रहेको एमालेले जनाएको छ। बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीका आगामी कार्यक्रम तथा संगठनात्मक गतिविधिबारे छलफल हुने बताइएको छ।
गत असोज ८ गते सम्पन्न एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता मनोनयन गरेको थियो। सोही निर्णयअनुसार उनी आज पहिलोपटक स्थायी कमिटी बैठकमा सहभागी हुन लागेकी हुन्।
केन्द्रीय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउनुका साथै स्थायी कमिटीको गठनसमेत गरेको थियो। आजको बैठकअघि भण्डारीले वरिष्ठ नेताको हैसियतमा शपथ ग्रहण गरेकी थिइन्।
एमालेभित्रको नयाँ शक्ति सन्तुलन, संगठन विस्तार तथा समसामयिक राजनीतिक विषयमा बैठक केन्द्रित रहने अपेक्षा गरिएको छ।



प्रतिक्रिया