अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको स्थायी कमिटी बैठक जारी, विद्या भण्डारी पनि सहभागी

एमालेको स्थायी कमिटी बैठक जारी, विद्या भण्डारी पनि सहभागी


काठमाडौं- एमालेको स्थायी कमिटीको पहिलो बैठक बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा सुरु भएको छ। बैठक अहिले चलिरहेको छ।

बैठकमा पूर्वराष्ट्रपति तथा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी पहिलोपटक सहभागी भएकी छन्।

राष्ट्रपति निर्वाचित भएपछि पार्टी सदस्यता त्यागेकी भण्डारी करिब ११ वर्षपछि एमालेको उच्चस्तरीय बैठकमा सहभागी भएकी हुन्। हालै सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले उनलाई वरिष्ठ नेताको जिम्मेवारी दिएको थियो। वरिष्ठ नेताको हैसियतमा उनी पार्टीका सबै कमिटी बैठकमा सहभागी हुन पाउने व्यवस्था छ।

एमालेको सचिवालय बैठकले असोज ८ गते भण्डारीसहित ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित र थममाया थापालाई स्थायी कमिटीमा मनोनयन गर्ने निर्णय गरेको थियो। उक्त निर्णयलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेपछि नवमनोनित सदस्यहरू पहिलोपटक स्थायी कमिटी बैठकमा सहभागी भएका हुन्।

बैठकमा एमाले नेता ईश्वर पोखरेल पनि सहभागी भएका छन्। श्रीमतीको उपचारका लागि भारतमा रहेका पोखरेल बैठकमा सहभागी हुन सिधै च्यासल पुगेका हुन्। गत मंसिरमा सम्पन्न एमालेको ११औँ महाधिवेशनमा उनले अध्यक्ष पदमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका थिए।

आजको बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, पार्टीको आगामी कार्यदिशा, संगठनात्मक गतिविधि तथा स्थानीय तह निर्वाचनको तयारीबारे छलफल हुने जनाइएको छ। बैठकले पार्टीको आगामी रणनीति र कार्यक्रमबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

एमालेका अनुसार स्थायी कमिटीको प्रथम बैठक २०८३ असोज २२ गते पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बसेको हो। बैठकलाई महाधिवेशनपछिको संगठनात्मक पुनर्संरचना र आगामी राजनीतिक कार्ययोजनासँग जोडेर महत्वका साथ हेरिएको छ।